चिसो बढेपछि बालबालिकालाई निमोनिया

गाईघाट – केही दिनदेखि यता चिसो बढेपछि उदयपुर त्रियुगा नगरपालिका क्षेत्रका बालबालिकालाई निमोनियाले प्रभाव पार्न थालेको स्थानीयवासी तथा स्वास्थ्यकर्मीले बताएका छन्। खासगरी त्रियुगा नगरपालिकाको वडा नं ३, ५ र ९ का अधिकांश बालबालिकामा निमोनिया देखिएको र उनीहरुको स्थानीय अस्पताल तथा क्लिनिकहरुमा उपचार भइरहेको छ।


त्रियुगा वडा नं ३ को पुरानो गाईघाट क्षेत्र र बगरटोल क्षेत्रमा मात्र तीन दिनभित्र १३ जना बालबालिकामा निमोनिया देखिएको स्थानीय पब्लिक नर्सिङ होमका सञ्चालक प्रमेशकुमार ढकालले बताए।



दस जना निमोनियाबाट प्रभावित बालबालिकाको अहिले पब्लिक नर्सिङ होममा उपचार भइरहेको पनि सो नर्सिङ होमका चिकित्सक अनिलकुमार यादवले बताए। यस्तै नगरकै वडा नं ५ को पोर्ताहा क्षेत्रमा पनि चिसोको कारण १० जनाभन्दा बढी बालबालिका निमोनियाबाट प्रभावित भई स्थानीय अस्पतालमा उपचार भइरहेको स्थानीयवासी दुर्गानन्द चौधरीले बताए।


नगरकै ९ वडाको देउरी क्षेत्रमा पनि १० जना भन्दा बढी बालबालिकामा निमोनिया देखिएको र केहीको स्थानीय देउरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।


विगत तीनभित्र उदयपुरको पहाडी क्षेत्रमा हिउँ पर्नुका साथै चिसो बढेपछि जिल्लाको पहाडी गाविसहरु रौता, सल्ले क्षेत्रमा पनि स्थानीय बालबालिकालाई निमोनियाले सताउन थालेको सल्ले माविको शिक्षक लक्ष्मीप्रसाद घिमिरेले बताए। रासस

अन्य समाचारहरु