अन्तरार्ष्ट्रिय उडान भर्ने मध्यम किसिमको जहाजलाई २८ सय मिटर भिजिविलिटी आवश्यक पर्छ। ठूलो विमानलाई भने ३२ मिटर चाहिन्छ। आज बिहानको उपत्यकाको भिजिबिलिटी १६ सय मिटर थियो। १२ बजेसम्म २ हजार मिटर मापन गरिएको छ।
१६ मिटिरसम्म भिजिविलिटीमा उडान हुनसक्ने डोमेस्टिकतिर भने बिहानैदेखि नियमित उडान-अवतरण भइरहेको नागरिक उड्डयन प्राधिकरणका विमानस्थल अधिकारीले जानकारी दिएका छन्।
तुँवालोका कारण भिजिविलिटी घटेर एक किलोमिटरभन्दा टाढा देख्न नसकिने भएपछि अन्तरार्ष्ट्रिय फ्लाइटका अवतरण प्रभावित भएका हुन्।
लगातार तुसारो परेर चिसिएको राजधानीमा आज बिहान न्युनतम तापक्रम २ डिग्री सेल्सियसमा ओर्लिएको थियो। बिहान अधिकतम तापक्रम ४ डिग्री पुगे पनि मध्यान्ह ६ डिग्रीमा उक्लिएको छ। न्युनतम तापक्रम भने मध्यान्हसम्म पनि २ डिग्री नै छ। न्यनुतम र अधिकतम दुवै तल ओर्लिंदा एवम् दुईबीचको अन्तर घट्न जाँदा आज बिहानैदेखि राजधानीमा अधिक चिसो अनुभव गरिएको थियो।
उपत्यका वरिपरिका केही पहाडमा गत साता हिउँ परेपछि चिसो सिरेटोले मौसम चिसिएको थियो। आज बिहान घाम देखिएको छैन भने उपत्यकालाई तुँवालोले छोपेको छ। गुगल र याहुको मौसम भविष्यवाणीले दिउसोतिर तापक्रम बढ्ने अनुमान गरेका छन्।
आज दिनभरिमा १४ डिग्री सम्म पुग्ने अनुमान गरिएको पोखरा पूर्वको पहाडी र हिमाली क्षेत्रमा हिमपात भएपछि चिसो बढेको हो। यसपालिको हिउँदोमा पश्चिमी बायुको तेस्रो प्रभावले हिमपात र सिरेटोका कारण उपत्यकामा जाडो बढेको हो। पूर्वी तराइको मौसम सफा छ। मध्य पहाड र हिमाली क्षेत्रको सम्पूर्ण आकाश बादलले ढाकेको छ। मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् राजेन्द्र श्रेष्ठका अनुसार मध्य पहाडी क्षेत्रमा भोलिदेखि मौसममा सुधार हुनेछ।



