काठमाडौ – तीन वर्षपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) र राष्ट्रिय प्रकृति संरक्षण कोषले पाटेबाघको गणना गर्ने भएका छन् । बर्दिया राष्ट्रिय निकुञ्जमा गणना हुन लागेको हो ।
बर्दिया निकुञ्जको ९६८ वर्ग किलोमिटर क्षेत्रमा यही महिनादेखि ‘स्वचालित क्यामरा’ (क्यामरा ट्रयापिङ) मार्फत बाघको गणना सुरु हुनेछ । डब्लूडब्लूएफको ‘विकास, अनुसन्धान र अनुगमन कार्यक्रम’ संयोजक नरेन्द्रमानबाबु प्रधानले पाटेबाघ गणनाको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए ।
‘केही प्राविधिक सामग्रीका कारण काम सुरु हुन नसकेको हो’ प्रधानले भने, ‘यही महिनादेखि गणना सुरु हुन्छ ।’ उनका अनुसार गणनाका लागि एक सय जोडी स्वचालित क्यामरा प्रयोग गरिनेछ । गणनामा विभाग, डब्लूडब्लूएफ र कोषका प्राविधिक गणनामा खटिनेछन् । ७० दिनमा सबै काम सक्ने गरी गणना थालिने प्रधानले बताए ।
संरक्षणकर्मी शिवराज भट्टका अनुसार यो पटक निकुञ्ज बाहिरको खाता संरक्षण क्षेत्रमा समेत बाघको गणना गरिनेछ । पछिल्ला वर्षहरूमा निकुञ्ज बाहिरको खाता क्षेत्रसमेत बाघ र गैंडाको राम्रो वासस्थान बनेको छ । बाघ गणनाका लागि विभागले सम्पूर्ण प्राविधिक तयारी पूरा गरिसकेको छ ।
विभागका महानिर्देशक कृष्णप्रसाद आचार्यले पछिल्लो तथ्यांक थाहा पाउनका लागि बर्दियामा बाघ गणना गर्न खोजिएको बताए । ‘बर्दियामा बाघको अवस्था कस्तो रहेछ भन्ने जान्न खोजिएको हो,’ उनले भने ।
सन् २००९ मा गरिएको गणनाअनुसार बर्दियामा १८ वयस्क बाघ थिए । सन् २०११ मा चितवनमा १ सय २१ वयस्क बाघ थिए । बाघ पाइने देशहरूले सन् २०२२ सम्ममा विश्वभर बाघको संख्या दोब्बर बनाउने सन् २०१० मा नै घोषणा गरेको थिए । बाघ पाइने देशहरुले सन् २०१० लाई ‘बाघ वर्ष’ घोषणा गरी विभिन्न संरक्षणमुखी अभियान थालेका थिए ।
वासस्थान विनाश, आहारको कमी र अवैध चोरी सिकारी बाघका विश्वव्यापी चुनौती हुन् । बाघको संख्या बढ्न सहयोग पुगोस् भनेर बर्दियासँगै जोडिएको क्षेत्रलाई समेटेर सरकारले २०६७ को वैशाख ३० मा बाँके निकुञ्ज घोषणा गरेको थियो । बाँके निकुञ्जमा पनि बाघका पन्जा (छाप) र दिसा पाइएको प्रमाणित भइसकेको छ । कान्तिपुर



