काठमाडौंको फुटुङ्गस्थित महाकाली इंङ्गलिश वोर्डिङ्ग स्कुलका प्रिन्सिपलको कुटाईबाट विद्यार्थीको मृत्यु भएको भन्दै मृतकका परिवार र स्थानीयबासीले आज फुटुङ्ग स्थित प्रहरी वृत्तमा धर्ना दिए । प्रिन्सिपल पुनदेबी महर्जनको कुटाईबाट कक्षा ८ मा अध्यनरत १४ वर्षे बालक रोशन थापाको मृत्यु भएको आरोप मृतकका आफन्तको छ ।
हिजो दिउँसो साढे दुई बजे रोशनलाई प्रिन्सिपलले आफ्नो कोठामा वोलाई कुटपिट गरेको र वेहोस भएपछि परिवारलाई खवर नगरी वालाजु स्थित जनमैत्री अस्पताल पु-याएको परिवारको आरोप छ । अस्पतालमा पु-याए लगत्तै रोशनको मृत्यु भएको थियो । विद्यालय प्रशासनले भने वालक छारे रोगबाट पीडित भएको र प्रिन्सिपलको कोठामा पुगे लगतै बेहोस भएर अस्पताल पु-याइएको जनाएको छ । मृतकका परिवारले भने रोशनमा कुनै रोग नरहेको दाबी गरेको छ ।
प्रहरीले प्रिन्सिपल महर्जनलाई महानगरीय प्रहरी वृत्त वालाजुमा राखेर घटनाबारे अनुसन्धान थालेको छ । पोष्टमार्टम रिपोर्टपछि मात्रै घटनाबारे जानकारी दिन सकिने प्रहरीले जनाएको छ ।



