कमल थापा
रुकुम – माछा मार्न नदीमा हालेको पासा तान्ने क्रममा एक बालक सानी भेरी नदीमा डुबेर बेपत्ता भएका छन्। रुकुमको पीपल गाविस-३ गुपीगौंडाका १४ वर्षीय बालक लालबहादुर खत्री शुक्रबार माछा मार्ने पासा तान्ने क्रममा यसरी नदीमा बगेर बेपत्ता भएका हुन्।
सानी भेरी नदीमा शुक्रबार बिहान पासा राखेपछि दिउसो निकाल्न गएका खत्री पीपल-४ साँकुरे भन्ने स्थानबाट बगेर बेपत्ता भएको स्थानीय धनबहादुर खत्रीले जानकारी दिए। शुक्रबारको दिन आधा मात्र पढाई हुने भएकाले उनी साथीहरुसँगै नदीमा पुगेका हुन। बेपत्ता बालकको प्रहरी र स्थानीयबासीले खोजीकार्य जारी राखेका छन्।
त्यस्तै रुकुम गरायला-३ मसराका ४ बालबालिका परिवारको सम्पर्कविहीन भएका छन। बिहीबार गरायलाको बाल कल्याण निमाविमा पढ्न गएका उनीहरु २ दिनसम्म पनि घर फिरेका छैनन्। परिवारको सम्पर्कविहीन भएका बालकहरुमा ७ वर्षीय समिर परियार, ९ वर्षीय राजकुमार परियार, ८ वर्षीय ज्ञानबहादुर परियार र ५ वर्षीय राजन परियार छन्। उनीहरुको पनि खोजीकार्य जारी छ।