लामो संघर्षपछि जलजला यातायात बस व्यवसायी समितिले बुधबार रात्रि बस पठाएको थियो । दाङमा राप्ती समितिले बस रोकेर तोडफोड गरिदिएपछि स्थानीयले कुनै पनि यातायातका साधन चल्न नदिएका हुन् । बसमा रहेका यात्रुहरु अलपत्र परेका छन् । जलजला समितिका अनुसार रोल्पा पठाइएको बस रोकेर राप्तीले क्षति पुर्याएको छ । समितिका सचिव रामचन्द्र थापाले दुई समिति बीचको लामो समय अघिदेखिको विवाद नसकिएकाले यस्तो अवस्था आएको बताए ।
जलजला समितिका अनुसार बुधबार घर्तीगाउबाट काठमाडौका लागि छुटेको ना ३ ख १९२४ नं को बसलाई घोराहीमा क्षति पुर्याइएको छ । घोराहीमा क्षति पुगेको बस त्यही थन्किएको छ । बदलामा स्थानीयले घर्तीगाउँबाट विहीबार विहान घोराहीका लागि छुट्ने राप्ती समितिको ना २ ख २८०० नं को बससहित सबै बस चल्न दिएका छैनन् । घर्तीगाउ बजार व्यवस्थापन समितिका सदस्यहरुले रात्रि बस संचालन नगर्दासम्म कुनै पनि साधन चल्न नदिने बताएका छन् । पूर्व गाविस अध्यक्ष गोपाल घर्तीले जनताको माग नसुनेमा अनिश्चितकालीन समयका लागि यातायात चल्न नदिने बताए । घर्तीगाउँबाट दैनिक रुपमा दाङका लागि २ वटा र काठमाडौका लागि १ बस चल्छ ।
जलजला समितिका अध्यक्ष पुष्पा श्रेष्ठले यातायात व्यवसायी महासंघका राप्ती अंचल संयोजक भरतनाथ योगीको नेतृत्वमा ६०/७० जना आएर रोल्पाबाट पठाएको बसमा क्षति पुर्याएको बताइन् । श्रेष्ठ महासंघकी केन्द्रीय उपाध्यक्ष हुन् । राप्तीमा भएका यातायात व्यवसायी समिति बीच लामो समय यता विवाद हुने गरेको छ । विवादलाई कम गर्न पटक पटक छलफल भएपनि अझैसम्म कुरा मिलेको छैन । राप्ती समितिबाट विवादकै कारण प्युठानमा स्वर्गद्धारी र रोल्पामा जलजला समिति गठन भइसकेका छन् । सल्यान र रुकुममा पनि छुट्टै समिति खोल्ने तयारी भइरहेको छ ।



