पोखरामा ‘एपेन्डिक्ससाइटिस’ को शल्यक्रिया गरिएकी २६ वर्षीया युवतीको होसमा नआईकन मृत्यु

पोखरा  – पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा ‘एपेन्डिक्ससाइटिस’ को शल्यक्रिया गरिएकी युवतीको होसमा नआईकन मृत्यु भएको छ ।

शल्यक्रियापछि सीधै सघन उपचार कक्षमा लगेर ‘भेन्टिलेटर’ मा राखिएकी २६ वर्षीया गंगा ढकाललाई चिकित्सकले चार दिनपछि आइतबार मृत घोषणा गरेका हुन् ।

स्याङ्जा, फाफरथुम ५, पातीखोला घर भएकी उनलाई पेट दुखेर बान्ता भएपछि परिवारले अस्पतालमा ल्याएको भोलिपल्ट बुधबार ‘एपेन्डिक्ससाइटिस’ को शल्यक्रिया गरिएको थियो । दिउँसो १ बजे शल्यक्रिया कक्षमा लगिएकी उनलाई चार घन्टापछि निकालेर सीधै आडैको सघन उपचार कक्षमा लगेर ‘भेन्टिलेर’ को मद्दतले श्वासप्रश्वास गराइएको थियो ।

घुँडाभन्दा तल दुवै खुट्टा सानैमा भाँचिएर अपांग बनेकी उनको शल्यक्रियामा चिकित्सकले लापरबाही गरेका कारण मृत्यु भएको परिवारले आरोप लगाएका छन् ।

 

‘अप्रेसन कक्षबाट सीधै आईसीयूमा लगेर राख्दा उतिबेला बिरामीको श्वासप्रश्वास शून्य देखाएको थियो,’ मृतकका भिनाजु राजेन्द्र अधिकारीले शल्यक्रिया कक्षबाट निकाल्दा बिरामीले श्वास नफेरेको बताउँदै भने, ‘यस्तो किन भयो ? भनेर सोध्दा सुरुमा डाक्टरले भेन्टिलेटरमा राख्दा शून्य देखिएको हो भने, हिजोअस्ति राम्रो हुँदै आएको छ भने, तर आज आएर बचाउन सकेनौं भने ।’ बिरामीको पहिला नै मृत्यु भइसके पनि चिकित्सकले तत्काल घटनालाई ढाकछोप गर्न विभिन्न बहाना बनाएको आफन्तको आरोप छ । ‘मृगौला फेल भएको भन्दै हेमोडाइलोसिस गरे ठीक हुन्छ भनेर आश्वासन दिएकाले चुपचाप पर्खेर बस्यौं,’ उनले भने ।

 

-कान्तिपुर

अन्य समाचारहरु