न्यायाधीश र सरकारी वकिलका लागि घूस भन्दै कैदीबन्दी र आफन्तसँग रकम असुलेका खनाललाई जिल्ला प्रशासनको निर्देशनमा कारबाही सुरु गरिएको हो ।
कानुनी उपचार सेवा खोलेर बसेका खनालविरुद्ध प्रहरीले मंगलबार कैदीका आफन्तको जाहेरी मुद्दा दर्ता गरेको छ । प्रहरी नायब उपरीक्षक वसन्त कुँवरले कागजपत्रका आधारमा उनलाई ठगी मुद्दा चलाउने तयारी भएको बताए । ‘उनीका नाममा पक्राउ पुर्जीसमेत जारी भएको छ । वकिल खनाल मंगलबार जिल्ला बाहिर रहेकाले पक्राउ गर्न सकिएन,’ कुँवरले भने, ‘उनीमाथि अनुसन्धान गरेर कानुनबमोजिम कारबाही हुन्छ ।’
छानबिन समिति प्रतिवेदन, कैदीबन्दीको निवेदन, आफन्तको उजुरीलगायतलाई आधार मान्दै खनालमाथि कारबाही थालिएको प्रजिअ कमलप्रसाद भट्टराईले बताए । उनले भने, ‘प्रतिवेदनले बोलेको तर अनुसन्धान गर्न बाँकी विषयमा बुझी कारबाही गर्न प्रहरीलाई लिखित निर्देशन दिइसकेको छु ।’ खनालविरुद्ध १६ कैदीबन्दीबाट १७ लाख ४२ हजार रकम उठाएको आरोप लगाइएको थियो ।
ठगिएकाले खनालबाट रकम फिर्ता गराई कारबाही गरिपाऊँ भन्दै जिल्ला प्रहरी, प्रशासन कार्यालय, न्याय परिषद् काठमाडौं, बार एसोसिएसन काठमाडौं, महान्यायाधिवक्ताको कार्यालय र सर्वोच्च अदालतमा उजुरी दिएका थिए । उजुरी र उनले ठगी गरेको विषयमा सञ्चारमाध्यममा सार्वजनिक भएपछि क्षेत्रीय प्रशासन पोखराको निर्देशनमा जिल्ला प्रशासनले छानबिन समिति गठन गरेको थियो ।
समितिले दुई साताअघि प्रजिअलाई प्रतिवेदन बुझाइसकेको छ । उक्त प्रतिवेदनले १४ जनाबाट ६ लाख २५ हजार ५ सय उठाएको उल्लेख गरेको छ । ‘बाँकी रकम कैदी/बन्दीले बढाएर लेखेको अनुसन्धानबाट खुल्न आएको छ,’ प्रतिवेदनमा भनिएको छ । प्रहरी निरीक्षक दिलीप घिमिरे संयोजकत्वमा गठित समितिले निवेदन परेका कैदीसँग पुनरावेदन गर्नुपर्ने भन्दै रकम लिएको तर त्यसो नगरेको, जाहेरी लेखेको विपक्षीको पनि मुद्दा जिम्मा लिई बहस नगर, केही बन्दीका आफन्तसँग मुद्दा जिताइदिन्छु भन्दै ५० हजारका दरले रकम लिएको उल्लेख छ ।
कानुन व्यवसायी आचारसंहितामा जाहेरी लेख्ने वकिलले मुद्दा लड्न नपाउने, हारजित गराइदिन्छु भन्दै रकम लिन नपाउनेलगायत व्यवस्था छ । उनले भने त्यसको उल्लंघन गरेको प्रतिवेदनले देखाएको छ । तीन सदस्यीय छानबिन समितिले वकिल खनालमाथि बयान नलिई प्रतिवेदन बुझाएको छ ।
‘पुनरावेदन गर्न हद म्याद गुजारी पुनरावेदन नगरेकाले खनालको बदनियतपूवर्क एक कैदीबाट रकम लिएको अनुसन्धानबाट देखिन आउँछ,’ प्रतिवेदनमा भनिएको छ, ‘जाहेरी दरखास्त लेखेको मुद्दामा पनि उनले रकम लिएका छन् ।’ –



