चितवन राष्ट्रिय निकुञ्जको जङ्गलमा बाघले मान्छे खायो

रत्ननगर, चितवन   –  चितवन राष्ट्रिय निकुञ्जको जङ्गलमा आज बाघले एक व्यक्तिको ज्यान लिएको छ । निकुञ्जको लामिटार क्षेत्रमा घाँस काट्न गएका पटिहानीका अन्दाजी १७ वर्षीय किसन महतोलाई बाघले आक्रमण गरी ज्यान लिएको हो ।

बिहीबार बिहानै चारजना साथीसँग गएका उनलाई बाघले आक्रमण गरेको थियो । उनका अरु साथीले भने भागेर ज्यान जोगाएका थिए ।

बिहान ८ बजे भएको सो घटना ११ बजेमात्र थाहा पाएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । महतोको शव निकुञ्ज टोली र घाँस काट्ने अर्को समूहका मानिसले खोजतलासका क्रममा क्षतविक्षत अवस्थामा फेला पारेका थिए ।

उनको शवलाई पोष्टमार्टमका लागि भरतपुर अस्पताल ल्याउने तयारी भइरहेको चितवन प्रहरीले जनाएको छ । रासस

चितुवाको आक्रमणबाट तीन घाइते

कीर्तिपुर । दहचोक र महादेवस्थान गाविसको सिमानामा बुधबार साँझ चितुवा पसी स्थानीयवासीलाई आक्रमण गरेपछि यहाँका स्थानीयवासी त्रसित बनेका छन् ।

चितुवाको आक्रमणबाट महादेवस्थान गाविस वडा नं ८ मा बस्ने मीना रानामगर, कृष्ण लामा र रामबहादुर लोकचन घाइते भएको दहचोक युनाइटेड क्लबका अध्यक्ष रोशन दानीले बताए ।

चितुवा वस्तीमा पसेपछि स्थानीयवासीले तत्काल प्रहरीमा खबर गरेको भए पनि चितुवा नियन्त्रणमा लिन नसकिएका कारण पुनः आक्रमणको डरले स्थानीयवासी त्रसित बनेको उनले बताए ।

चितुवा नियन्त्रणमा लिने प्रयासमा प्रहरी हवल्दार युवराज पोख्रेलसमेत घाइते भएको महानगरीय प्रहरी प्रभाग थानकोटका सई गम्भीरजङ थापाले जानकारी दिए ।

रासस

अन्य समाचारहरु