भारतमा चार वर्ष अघि भएको वहुचर्चित नेपाली कामदार हेमराज र आरुषी हत्याकाण्डमा आरुषीकी आमा विरुद्ध पक्राउ पुर्जी जारी


 

नयाँ दिल्ली,  भारत – भारतमा चार वर्ष अघि भएको वहुचर्चित नेपाली कामदार हेमराज र आरुषी हत्याकाण्डमा त्यहाँको सिबिआइको विशेष अदालतले मृतक आरुषीकी आमा नुपुर तलवार विरुद्ध गैर जमानती पक्राउ पुर्जी जारी गरेको छ। यस सम्बन्धमा नुपुर कुनै पनि बेला पक्राउ पर्न सक्ने बताइएको छ।

 

यसअघि अदालतले आरुषीका पिता राजेश तथा आमा नुपुर तलवारलाई प्रहरी नियन्त्रणमा राख्ने सिबिआइको मागलाई अस्विकार गरेको थियो। केन्द्रिय जाँच ब्युरोले राजेश तथा नुपुर तलवारमाथि कामदार हेमजार तथा आफ्नै छोरीको हत्यामा सामेल भएको आरोप लगाएको छ।

सन् २००८ को १३ मार्चमा नोएडामा तलवार दम्पतिकी छोरी आरुषी र कामदार हेमराजको हत्या भएको थियो। प्रहरीले पहिला आरुषीको हत्यामा हेमराजमाथि शंका गरेको थियो। तर दुई दिनपछि हेमराजको लाश पनि घरको छतमा भेटिएको थियो। यस सम्बन्धमा भारतको उत्तर प्रदेश प्रहरीले पहिला तलवार दम्पतीलाई शंकाको घेरामा राखेको थियो।

 
तर सुरुको अनुसन्धानमा तलवार दम्पतिलाई दोसमुक्त गरेको सिबिआइले पछिल्लो अनुशंधानलाई उनीहरू विरुद्ध नै केन्द्रित गर्दै आएको छ। – एजेन्सी