असिना र हावाहुरीले तरकारी, घर, विद्युत्, सञ्चारका साधन र खानेपानीको मुहानमा क्षति पुर्याएको प्रहरीले जनाएको छ ।
बिहीबार साँझ ४ बजेदेखि ६ बजेसम्म लगातार असिना पानी पर्दा वेसीसहर, बाजोखेत, चण्डीथान, भारती, गाउँसहर, सिमपानीलगायतका स्थानमा अन्न र तरकारी बालीमा व्यापक क्षति पुगेको छ । ठाउँ ठाउँमा पोल ढलेर भाँचिएकाले विद्युत्, टेलिफोन, केबुललगायतका सञ्चार माध्यमहरू अवरुद्ध बनेका छन् । खानेपानीको मुहानका नाला फुटेकाले खानेपानीको अभाव हुन थालेको छ ।
जिल्लाका सरकारी कार्यालय बन्द भएकाले क्षतिको यकिन विवरण आउन सकेको छैन । लमजुङ विद्युत् उपभोक्ता समिति अध्यक्ष श्रीकान्त घिमिरेले भने, ‘विद्युतका ३ सय वटा पोल भाँचिएको हुनाले तत्काल विद्युत् आपूर्ति गर्न सक्ने सम्भावना कम छ ।’ विद्युत् अवरुद्ध हुनाले लमजुङमा रहेका टेलिफोन, केबुल नेकवर्क, मस्याङ्दी एफएम र लमजुङ एफएमलगायत दैनिक पत्रिका साप्ताहित पत्रिका प्रकाशित हुन सकेका छैनन् । असिनाले एफएमका टावर डिक्सहरू छिन्नभिन्न पारी प्वाल पारिदिएको छ भने घरका सिसाहरू फुटेका छन् ।
हावाहुरीले बेसीसहरलगायता दर्जनांै घरका टिनका छाना उडाएको स्थानीयबासीले बताए । असिनापानीले हिउँदे बाली, मकै, थन्क्याउने तयारीमा रहेका गहुँका साथै काँक्रो, बन्दा, काउली, फर्सी, खुर्सानी, गोलभेडालगायतका तरकारी तथा फलफूल पूर्णरूपमा नष्ट भएपछि वर्षभरि के खाने होला भन्ने चिन्ताले किसानमा निराशा छाएको छ ।
जिल्लामा पुग्ने मुख्य सडक डुम्रे-बेसीसहर, भोटेवडार बेसीसहर लगायत जिल्लाका भित्री सडकमा क्षति पुगेकाले सवारी साधन चल्न सकेका छैनन् । स्थानीयबासीका अनुसार कुनै कुनै स्थानमा झन्डै ३-४ फिटसम्म असिना जमेको बताएका छन् । जिल्लाका केकति क्षति भयो भन्ने विवरण आउन बाँकी रहेको कृषि विकास कार्यालय लमजुङले जनाएको छ । स्थानीय बासिन्दाले ३० वर्षपछिमात्र यति ठूलो असिनापानी परेको बताएका छन् ।



