– कृष्ण खनाल
बुटवल बैशाख ४। पश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटवलले सवारी साधन चलाउने चालकले मादक पदार्थ सेवन गरे नगरेको पत्ता लगाउने मेसिन ब्रेथलाईजर, प्रयोग गर्न थालेको छ ।
मेसिनलाई मुखको नजिकै लगेर स्वास फ्याँकेपछि त्यसले कति प्रतिशत मदिरा सेवन गरेको छ भन्ने पत्ता लाग्ने प्रहरीले जनाएको छ ।
यस क्षेत्रमा प्रहरीले बिगत ४ महिना देखि मादक पदार्थ सेवन गरि सवारी साधन चलाउनेलाई कारबाही गर्दै आएको छ । उक्त कारवाहीमा करिब ५ सय जना कारवाहीमा परिसकेको क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटवलका डिएसपी पि्रतमराज भट्टराईले जानकारी दिनुभयो ।
मादक पदार्थ सेवन गरि सवारी साधन चलाउने कार्यलाई कारबाही र नियन्त्रण गर्न पश्चिमान्चल क्षेत्र भरिका लागि ४० थान ब्रेथलाईजर उपलब्ध गराई १५ जिल्लामा प्रयोग गरिएको ट्राफिक प्रहरीले सोमबार पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
रुपन्देहीको बुटवल र भैरहवा क्षेत्रमा ६ थान प्रयोग गरिएको बताउँदै उक्त मेसिन प्रयोग गरेपछि मदिरा सेवन गरे नगरेको प्रष्ट हुने पश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख भट्टराईले बताउनु भयो ।