नक्कली प्रक्रिया पुर्याएर सवारी चालक अनुमति पत्र लिन खोजेका ९६ जनालाई शनिबार प्रहरीले नियन्त्रणमा लिएका छन् । पक्राउ परेकाहरु नवलपरासी, चितवन र बुटवलका छन् । उनीहरु सबै भेरी अंचल यातायत कार्यालयबाट अनुमति पत्र लिन यहाँ आएका हुन् ।
बस पार्कको जलजला र क्यापिटल होटेलबाट सरकारी प्रक्रियाको कागजात तयार गरिरहेको अवस्थामा प्रहरीले दलाल सहित लाइसेन्स लिन आएकाहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरी उपरीक्षक विक्रमसिंह थापाले नक्कली प्रक्रिया बाट सक्कली लाइसेन्स लिने खेल भइरहेको सूचनाका आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको बताए । ‘यातायातका कर्मचारी तथा केही प्रहरी समेतको मिलोमतोमा यस्तो भएको हुनसक्छ,’उनले भने-‘हामी सुक्ष्म अनुसन्धान गर्दैछौं ।’
एसके ड्राइभिङ बुटबल, हाम्रो ड्राइभिङ सेन्टर भरतपुर र नवलपुर ड्राइभिङ सेन्टर नवलपरासीले लाइसेन्स दिलाउन मोटो रकम लिएर ल्याएको देखिएको छ । प्रहरीले एसकेका ऋषि रिमाल र नवलपुरका सन्तोष शर्मालाई पक्रेको छ । हाम्रो ड्रइभिङका कुमार परियार फरार छन् । लाइसेन्स लिन आउनेहरु तीन वटा बसमा आएका छन् ।
यातायात कार्यालयका कर्मचारीले प्रतिब्यक्ति ५ देखि साढे ९ हजार रुपैयाँ असुल गरी दलाल मार्फत लाईसेन्स बितरण गर्दै आएको सूचनाका आधारमा प्रहरीले लाईसेन्स बनाईदिने गिरोह र लाईसेन्स बनाउन आएकालाई उनीहरु बसेको होटलमा छापा मारेर पक्राउ गरेको हो ।नेपालगन्जमा पैसा खुवाएकै भरमा सक्कली लाईसेन्स पाईने बताएपछि रुपन्देही, गोरखा, चितवन, नवलपरासी लगायत जिल्लाका युवाहरु बस रिर्जभ गरेर नेपालगन्ज आएका हुन् । यातायात ब्यवस्था कार्यालय भेरीले रकम असुल गरेर हरेक महिना करिब ८ सय लाईसेन्स बितरण गर्दै आएको स्रोतको दाबी छ ।
जनक नेपाल/राजेन्द्र नाथ