यो घटनापछि जिल्लाका स्वास्थ्यकर्मीहरु खोप लगाउनुअघि अपनाउने सावधानीबारे बहसमा जुटेका छन्। घटनापछि आइतबार जनस्वास्थ्य कार्यालयमा भेला भएका जिल्लाभरीका स्व्ाास्थ्यकर्मीहरुले अबदेखि ‘बिरामी बच्चालाई खोप नलगाउने’ अनौपचारिक निर्णय लिएका छन्। ‘अबदेखि बिरामी अवस्थाको बच्चालाई खोप लगाइँदैन,’ उपस्वास्थ्य चौकी खदुनाबारीका अहेब गोपाल शरणले भने, ‘यसपटक भीडभाडमा ध्यान पुर्याउन सकिएन।’
खोप लगाउनुअघि बच्चा विरामी भएको बताउने उनले के समस्या थियो भन्ने चाहिँ बताउन सकेनन्। उनका अनुसार त्यस दिन केन्द्रबाट जम्मा २९ जना बालबालिकाले खोप लिएका थिए। अरु बालबालिकामा त्यसको नकरात्मक असर केही देखिएको छैन। ‘अरु सबैलाई ठीक छ,’ अहेब शरणको भनाइ छ, ‘उनी केही बिरामी भएको हुनुपर्छ।’
लहरेखोकी, भ्यागुते रोग, धनुष्टंकार, हेपाटाइटिस बी, हिप जस्ता रोगको संक्रमणबाट बालबालिकालाई जोगाउन डिपिटी खोप दिइन्छ। जन्मेको डेढ महिनापछि हरेक एक महिनाको फरकमा यो खोप तीन पटक लगाउनुपर्छ। दानाबारीका मृतक शिशुका लागि पहिलोपटक लगाइँदै थियो।
बालबालिकाका लागि सरकारले निशुल्क रुपमा खोप अभियान सञ्चालन गर्दै आएको छ। शिशु जन्मेको डेढ महिनाभित्र बीसीजी खोप दिएपछि डिपिटी दिने गरिन्छ। त्यसपछि नौ महिना पूरा भएपछि दादुराको र १२ देखि २४ महिनाभित्र जेइ अर्थात जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप दिइन्छ। त्यही समयमा पोलियो विरुद्धको खोप पनि तीन पटक दिइन्छ।
खोपपछि बच्चाको ज्यान गएपछि परिवारजनले सरकारसँग क्षतिपूर्ति माग गरेका छन्। परिवारको आक्रोशबाट स्वास्थ्यकर्मीलाई जोगाउन प्रहरीले अहेब शरण र अर्की स्वास्थ्यकर्मी कमला कुँवरलाई नियन्त्रणमा पनि लिएको थियो। तर, यसअघि खोपकै कारण क्षति व्यहोरेकाहरुले भने क्षतिपूर्ति नपाएको जनस्वास्थ्य कार्यालयले जनाएको छ।
अघिल्लो वर्ष झापामा दादुरा खोप लगाउनासाथ एक बच्चाको आँखाको ज्योति गुमेको थियो। जिल्ला प्रशासन कार्यालयले पीडित परिवारलाई क्षतिपूर्तिस्वरुप २५ हजार रुपैयाँ उपलब्ध गराएको छ।



