लुम्बिनी भ्रमण वर्ष २०१२ प्रवर्द्धन विषयमा सिड्नीमा छलफल

सानु घिमिरे,

 

सिड्नी – सिड्नीको आमा रेस्टुरेन्टमा ८ मेका दिन नेपाल सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण बर्ष २०१२ लाई विदेशमा रहेका नेपालीका हैसियतले नागरिकीय दायित्व निर्बाह गर्ने क्रममा के कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित भएर छलफल भएको छ ।

 


उक्त छलफलमा लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विश्व सल्लाहकार डा. कबिताराम श्रेष्ठ, लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठ, लुम्बिनी-कपिलवस्तु दिवस अभियान अस्ट्रेलिया राष्ट्रिय संयोजक एबं बुद्ध दर्शन समितिका अध्यक्ष निमा ग्याल्जे शेर्पा ‘गोपर्मा’, NINFA एबं बुद्ध दर्शन समितिका उपाध्यक्ष सुदिप गौचन, तमु समाज सिड्नीका अध्यक्ष एबं लुम्बिनी-कपिलवस्तु दिवस अभियान अस्ट्रेलिया राष्ट्रिय समितिका संयोजक इन्द्र तामाङ, NINFA का सचिब एबं लुम्बिनी-कपिलवस्तु दिवस अभियान अस्ट्रेलिया राष्ट्रिय समितिका संयोजक लीला बहादुर गुरुङ, तमु समाज सिडनीका अध्यक्ष ईन्द्र गुरुङ र इन्दिरा गुरुङको सहभागिता थियो ।

छलफलका क्रममा सिडनीमा भएका ट्राभल एजेन्सी र नेपालका ट्राभल एजेन्सीहरुका बीच सम्पर्क गराएर अस्ट्रेलियाबाट नेपाल जाने पर्यटकहरुको भ्रमण प्याकेजमा बुद्धको जन्मभूमि लुम्बिनीलाई पनि समाबेश गराउन प्रयास गरिनु पर्नेमा जोड दिइयो ।

यसले लुम्बिनी भ्रमण बर्ष २०१२ लाई सहयोग पुग्ने मात्रै नभएर बुद्धको जन्मभूमिका बारे सिर्जित विश्वब्यापी दिग्भ्रम निस्तेज पार्नमा पनि केही हदसम्म सहयोग पुग्ने कुरामा छलफलमा सहभागीहरु सबैले विश्वाश ब्यक्त गरे ।


चौथो लुम्बिनी-कपिलवस्तु दिवस मनाउने समयमा लुम्बिनी-दिकपिलवस्तु बस अभियानका विश्व सल्लाहकार आनी चोयुङ डोल्मालाई सिडनी ल्याउने प्रयास भैरहेकोले त्यही समयमा नेपालबाट केही पर्यटन ब्यवसायीहरुलाई पनि ल्याएर बुद्ध जन्मस्थलको प्रबर्द्धन गर्न विभिन्न संस्थाहरुसंग मिलेर अहिलेदेखि नै कुराकानी अगाडि बढाउन छलफलमा सहभागी सिडनीबासीहरुले प्रतिबद्धता जाहेर गरेका छन् ।