अमर बचाउ अभियान

-होम कार्की

दार्चुलाका अमरबहादुर बमलाई मृत्युदण्ड सुनाएको ९ वर्षपछि संयुक्त अरब इमिरेट्सस्थित नेपाली दूतावासले बल्ल पुनरावेदन गर्न सकिने सम्भावना रहेको जनाएको छ । त्यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन भन्दै उसले १२ लाख रुपैयाँ सरकारसँग मागेको छ ।

परिबन्दमा परेर मृत्युदण्डको सजाय भोगिरहेका अमरको बचाउका लागि चौतर्फी आवाज उठेपछि दूतावासले पुनरावेदन गर्ने सम्भावनाबारे परराष्ट्र मन्त्रालयलाई जानकारी दिएको हो । अमरलाई १४ अक्टोबर २००३ मा दुबई अदालतले मृत्युदण्ड सुनाएको थियो ।

‘पुर्पक्ष सम्बन्धी समग्र अदालती लेखापढी र कागजातहरूका प्रतिलिपि प्राप्त गरी अध्ययन गरेपछि निजलाई बचाउन सकिने कुनै आधार भए सोको आधारमा पुनरावलोकनमा जान सकिने सम्भावना छ,’ यूएईमा भर्खरै कार्यभार सम्हालेका राजदूत धनञ्जय झाले परराष्ट्रलाई पत्र लेख्दै भनेका छन्, ‘पुनः पुर्पक्षको प्रक्रियाका लागि पुनरावलोकन प्रक्रिया अगाडि बढाउन आवश्यक देखिएको छ ।’

दूतावासले यूएईका वरिष्ठ वकिल नियुक्त गर्न र अदालतको शुल्क तिर्न तत्काल ५ लाख रुपैयाँ पठाउन अनुरोध गरेको छ । दूतावासले अमरको कानुनी उपचारका लागि एक कोष स्थापना गर्न समेत भनेको छ । यसअघि दूतावास यस विषयमा मौन बसेको थियो । अमरको जीवन रक्षा गर्न दूतावासले महत्त्वपूर्ण भूमिका निर्वाह नगरेको प्रति राष्ट्रपति रामवरण यादव तत्कालीन राजदूत अर्जुनबहादुर थापाको भूमिकाप्रति जिज्ञासा समेत रराखेका थिए । चार वर्षे कार्यकाल पूरा गरेर आएका थापा परराष्ट्र मन्त्रालयमा प्रवक्ता छन् । ‘यतिन्जेलसम्म राजदूत के हेरी बसिरहेका थिए ?’ अमरको जीवन रक्षाका लागि ज्ञापनपत्र बुझाउन पुगेका अमर बचाउ अभियानका टोलीसमक्ष राष्ट्रपति यादवले भनेका थिए, ‘राजदूतको काम लेखापढी गर्ने मात्रै होइन । कतारमा चन्द्रशेखरको जीवन बच्यो । यूएईमा किन केही भएन ?’

थापाले अमरबारे अदालतको फैसला झिकेर अध्ययन गर्नुको साथै जेलमा गएर भेटेर उनलाई राहत दिएको बताए । ‘अमरको विषयमा थाहा पाउनसाथ फैसला झिके । त्यसका लागि निकै मेहनत गर्नुपर्‍यो । जेलमा गएर पटकपटक भेटें,’ अमरकी श्रीमती धनमती, बाबु कर्णबहादुर बमसहितको टोलीसमक्ष उनले भनेका थिए, ‘अझै

प्रयासरत छु ।’

यूएईस्थित नेपाली समाजले समेत अमरको जीवनरक्षाका लागि यूएईका शेखसमक्ष ज्ञापन दिने तयारी भएको छ । हत्या गर्ने दुई जना भारतीयले समेत घटनाको योजनाबारे अमरलाई कुनै जानकारी नभएकाले उनी निर्दोष रहेको पत्र दुबई अदालतलाई बुझाएका छन् । 

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले उनको जीवन रक्षाका लागि आवश्यक रकम दिन सक्नेबारे छलफल भइरहेको जनाए । ‘कानुनी उपचारका लागि के-कति रकम लाग्छ भनेर सोधेका छौं,’ बोर्डका कार्यकारी निर्देशक स्थानेश्वर देवकोटाले भने, ‘वैदेशिक रोजगारका लागि यूएई गएको भए रकम दिन सकिन्छ ।’ 

अर्का नेपालीलाई पनि मृत्युदण्ड

यूएईको सारजाहास्थित जेलमा तीन वर्षअघि देखि दुर्गाबहादुर सुनुवारले मृत्युदण्डको सजाय भोगिरहेको थाहा भएको छ । दूतावासका अनुसार हाँसपोसा-२, सुनसरीका गणेशबहादुर बस्नेतलाई हत्या गरेको भन्दै सुनुवारले मृत्युदण्डको सजाय पाएका हुन् । सुनुवारले गणेशलाई १४ जनवरी २००९ मा हत्या गरेका थिए ।

दूतावासले बस्नेतका नजिकका नातेदारले सुनुवारलाई माफी दिने वा नदिने विषयमा सोधिदिन परराष्ट्र मन्त्रालयलाई अनुरोध गरेको छ । पीडित परिवारको इच्छा अनुसार यूएई सरकारले मृत्युदण्डको फैसलालाई कार्यान्वयन गर्ने दूतावासले जनाएको छ । 

‘मृत्युदण्डको सजाय दिने, दिया रकम (ब्लडमनी) लिई माफी दिने वा मृत्युदण्ड पनि नदिने र दिएको रकम नलिई माफी गदिने,’ दूतावासले भनेको छ, ‘यी तीनमध्ये पीडित परिवारले कुन विकल्प रोज्छ ?’ सुनुवारले आफू निकै विपन्न परिवार रहेकाले दिया रकम दिन नसक्ने बताएको दूतावासले जनाएको छ ।