कुवेतमा कम उमेरका नेपाली महिलाहरु घरायसी काममा जाँदा दुःख

काठमाडौं – कुवेतमा कम उमेरका नेपाली महिलाहरु घरायसी काम (हाउस मेड)मा जाँदा दुःख पाउने क्रम बढेको छ। राहदानीमा उमेर बढाएर कुवेत जाने महिलाहरु दुःख पाएर त्यहाँ रहेको नेपाली दूतावासको आश्रय (सेल्टर)मा आइरहेका छन्।

‘राहदानीमा उमेर बढाएर आउने युवतीहरु सेल्टरमा बढी आएका छन्,’ राजदूत मधुवन पौडेलले टेलिफोनमा नागरिकसँग भने, ‘दलालले अनेक सपना देखाएर यहाँ आउने क्रम बढेकाले समस्या भएको हो।’ उनका अनुसार आश्रयस्थलमा दैनिक दुईजना महिला थपिएका छन्। उनले आश्रयस्थलमा आउने क्रम बढ्दै गएर समस्या भएको बताए।

‘उमेर बढाएर राहदानी बनाएर आएका महिलालाई कम उमेरका भन्न मिल्दैन। कानुनत उनीहरु वैधानिक रुपमा विदेश आएका हुन्,’ पौडेलले भने, ‘यसको विकल्प प्रतिबन्ध हो। तर प्रतिबन्ध लगाउँदा पनि भारत हुँदै आउँछन्।’ उनका अनुसार करिब २० हजारको हाराहारीमा कुवेतमा महिला कामदार गैरकानुनी छन्। कुवेतमा नेपाली दूतावास स्थापना हुनुअघि २८ हजार महिला कामदार थिए।

वैदेशिक रोजगार विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईले कम उमेरका महिला कुवेत गएका विषयमा दूतावाससँग छलफल भइसकेको जानकारी दिएका छन्। ‘यो समस्यालाई कसरी सम्बोधन गर्न सकिन्छ भनेर लागिरहेका छौं’ उनले भने।

 

– नागरिक