काठमाडौं – स्कुल बस चालक र सहचालकहरूले अब अनिवार्य पोसाक लगाउनुपर्ने भएको छ। ट्राफिक महाशाखा, प्याब्सन, एनप्याब्सन, हिसान र अभिभावक संघबीच शुक्रबार भएको बैठकले यस्तो निर्णय गरेको हो।
चालक र सहचालकको पोसाकको व्यवस्था सम्बन्धित स्कुलले नै गर्नुपर्ने ट्राफिक महाशाखा प्रमुख डिआइजी गणेश राईले बताए । ‘स्कुलले बस चालक र सहचालकको नाम पठाएपछि त्यही आधारमा हामी आइडी कार्ड दिन्छौं,’ राईले बैठकपछि भने।
भाडाका स्कुल बसको हकमा अगाडि र पछाडि पहेँलो रंगको सांकेतिक बोर्ड झुन्ड्याउने छन्। बैठकले स्कुल बसको सिट क्षमतासमेत तोकेको छ। दुई सिटमा बढीमा तीनजनाभन्दा बढी बालबालिका राख्न पाइने छैन।
प्लस टु कलेजमा मोटरसाइकल ल्याउन प्रतिबन्ध लगाउने सहमति पनि भएको राईले जानकारी दिए। सवारी दुर्घटनामा मोटरसाइकल सबभन्दा अगाडि रहेको र त्यसमा पनि प्लस टुका किशोर-किशोरी बढी पर्ने गरेको ट्राफिक महाशाखाले जनाएको छ।
अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले बालबालिकाको सुरक्षाका हकमा निर्णय सकारात्मक भएको बताए। खासगरी प्लस टुमा मोटरसाइकल प्रयोग रोक्नु उचित भएको उनको भनाइ छ।
एनप्याब्सनकी अध्यक्ष गीता राणाले बसको समय र सिट संख्या तोक्नाले बालबालिका सुरक्षित रूपमा यात्रा गर्न सक्ने बताइन्।
-नागरिक