गैर आवासीय नेपाली संघका पदाधिकारीहरुले नेपालमा एकसय मेगावाट सम्मका जलविद्युत आयोजनामा लगानी गर्ने

गैर आवासीय नेपाली संघका पदाधिकारीहरुले नेपालमा एकसय मेगावाट सम्मका जलविद्युत आयोजनामा लगानी गर्ने तयारी भईरहेको बताएका छन् । नेदरल्याण्डस्मा भएको एनआरएनहरुको पाँचौ युरोपियन क्षेत्रिय बैठकका लागि भेला भएका एनआरएन पदाधिकारीहरुले गत बर्षको काठमाडौं घोषणा पत्र अनुसार यसै वर्षबाट लगानी गर्ने तयारी भईरहेको बताएका हुन । एनआरएनका अध्यक्ष जिवा लामिछानेले नेपालको विकासका लागि सुरु गरिएको सामुहिक लगानी प्रभावकारी हुने भन्दै अधिकांश देशहरुमा रकम संकलन गर्न समितिहरु गठन भईसकेको जानकारी दिनुभयो । उहाँले नेपालको आर्थिक उन्नतिका लागि सामुहिक रुपमा लगानी गर्नुको विकल्प नरहेको पनि बताउनु भयो ।

यस्तै एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतोले नेपालमा संविधान नबन्नु र सुरक्षा अवस्था कमजोर देखाएर लगानी नगर्नेतर्फत सोच्नु गलत हुने भन्दै वेलायतमा संविधानै छैन युरोपमा पनि सुरक्षा छैन तर यहँ विकासका काम रोकिएका छैनन भन्नुभयो । दुइ दिने वैठकमा युरोपका १४ वटा देशका एनआरएन अध्यक्षहरुले नेपालमा स्वास्थ्य, शिक्षा र खानेपानीमा गरेको लगानीका बारेमा जानकारी गराएका थिए । एनआरएनका युरोप संयोजक कुमार पन्तका अनुसार यो वर्ष सामाजिक क्षेत्रमा युरोपबाट मात्रै एक करोड भन्दा बढि लगानी गर्ने जानकारी दिनुभयो ।


एनआरएन जर्मनीका अध्यक्ष पुष्प थापाले बाबालिकाको स्वास्थ्य क्षेत्रमा १० लाख रुपयाँ लगानी गरेको जानकारी दिनु भयो । नेदरल्याण्डस् घोषणपत्र जारी गर्दै सम्पन्न हुने वैठकले सामुहिक लगानी, सामाजिक विकास र एआरएनका विधानका बारेमा पनि निर्णय लिने भएको छ । RSS