काठमाडौंको अमृत साइन्स क्याम्पसमा फेरि गोली चल्यो

  अस्कल क्याम्पसका अनेरास्ववियु उपाध्यक्ष वसन्त शाही माथी गोली प्रहार

गम्भीर घाइते शाहीको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार हुँदै

काठमाडौंको नयाँबजारमा आज विहान अनेरास्ववियु अमृत साइन्स क्याम्पसका उपाध्यक्ष वसन्त शाहीमाथि गोली हानिएको छ । गोली हानी गम्भीर घाइते भएका अस्कल इकाई कमिटीका उपाध्यक्ष शाहीको अहिले उपचार भैरहेको छ । घाँटी र कोखामा गोली लागि गम्भीर घाइते उनको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार भैरहेको हो ।

 गम्भीर अवस्थामा उनलाई नयाँबजार खुसिबुको ह्वाइटफिल्ड कलेज नजिकबाट उपचारका लागि अस्पताल लगिएको थियो । अखिलकै दुई पक्षबीच विवाद हुँदा गोली हानिएको आशंका प्रहरीको छ । विहान सवा ७ बजेको घटनामा संलग्न भएको आशंकामा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । 

अस्कल स्ववियुका उपसभापति वीरबहादुर राउतको खुशिबुस्थित कोठामै शाहीलाई गोली हानिएको प्रहरीले जनाएको छ । घटनास्थल राउतको कोठाबाट यूएस मेड लेखिएको नाइन एमएमको म्याग्जिनसहितको पेस्तोल बरामद गरिएको छ । एउटा गोलीको खोका र दुई वटा लोड गरिएको गोली पनि प्रहरीले फेला पारेको छ । कोठाभित्रको डस्ना, तन्ना र सिरानीमा रगत लतपतिएको छ । अस्कल अनेरास्ववियु क्याम्पस इकाइ कमिटीको अस्ती शुरु भएको सम्मेलन विवादकै कारण स्थगित भएको थियो । इकाई अध्यक्षका लागि शाहीसहित धनप्रसाद उपाध्याय र कल्याण दाहाल पनि प्रतिष्पर्धामा थिए । यही विवादका कारण घटना भएको हुनसक्ने अनुमान प्रहरीको छ । गोली हानाहानमा सम्मेलनको विवाद पनि कारक हुनसक्ने विद्यार्थी नेताहरुले नै आशंका गरेका छन् । 

 
केही दिनअघि मात्र राजधानीको शंखमूलमा सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको गोली हानी हत्या गरिएको थियो । घटनामा संलग्न अपराधिको आजसम्म प्रहरीले पत्तो लगाउन सकेको छैन । RSS

अन्य समाचारहरु