चर्को गर्मीसँगै तातो हावा चल्न थालेपछि सर्वसाधारणलाई चितवनका सडकमा हिँड्न मुस्किल

– चाँदनी हमाल, नागरिक

 

चितवन – चर्को गर्मीसँगै तातो हावा चल्न थालेपछि सर्वसाधारणलाई चितवनका सडकमा हिँड्न पनि मुस्किल हुन थालेको छ। गर्मी बढे पनि पानी नपरेकाले चितवनको मौसम दिनप्रतिदिन तातिदै गएको छ। बढी तातो भएपछि सडकमा पैदल यात्रु मात्र हैन सवारी र हवाईजहाजका यात्रु पनि घटेका छन। घरमै बस्न सकिन्न गर्नीले सडकमा त पानी उम्लने तातो छ छाता ओढेर भरतपुर उकालो चढिरहेका रामकृष्ण श्रेष्ठले भने।
 
उनी भरतपुर उकालो कटेपछि हिड्न नसकेर क्याम्पसचोकको चौतारोमा सुस्ताए। उनीजस्तै थुप्रै सर्वसाधारण गर्मीले हिड्न नसकेर सडक किनारका विभिन्न स्थानमा रहेका बरपिपल र अन्य रुखको चौतारोमा बसीरहेका भेटिन्छन्। घरबाट बाहिर हिड्नेको संख्या पनि गर्मीसँगै ह्वात्तै घटेको छ। दिउसोको समयमा सडमका हिडडुल शून्य प्राय हुने गरेको छ। सडकमा हिड्दा चर्को घाम र तातो हावाले स्वास फेर्न पनि गाह्रो हुने गरेको सर्वसाधारण बताउछन्। बजार आउँदा चिसो र फलफुल नखाए घरफिर्न पनि नसकिने उनीहरु उल्लेख गर्छन्। दिनभरी बजार पसल खोलेर बस्ने व्यवसायीहरु पनि राती मात्र केही ग्राहक आउने गरेको सुनाउँछन्।


सर्वसाधारणको हिँडडुल कमहुँदा बजारका होटल पसलमा पनि ग्राहक कम जान थालेको व्यवसायीहरु बताउँछन्। ‘गर्मीले समोसा, पुरी, मिठाई नै बिक्न छाड्यो राममिष्ठान्न भण्डारका संचालक रामप्रसाद सुवेदी सुनाउछन् अलिअलि आएका पनि फ्यानको शितल र चिसो खान मात्र आउछन्।’ बिहान दिउसो र साँझ खाजाको लागि प्रख्यात उनको पसलमा गर्मीकै कारण आधा बढी ग्राहक घटेको छ।

बजार पसलमा कम मान्छे भएजस्तै सवारीसाधनमा पनि स्थानियको उपस्थिती कम भएको छ। ‘हामी काउन्टरमा बस्ने त आलस्य भएर पसिना पुछेको पुछ्यै छौं चितवन टेम्पो तथा माईक्रो यातायाता व्यवसायी संघका सचिव खेम आले भन्छन् गाडीमा चढ्न त बिन्ती गर्नुपर्छ अचेल।’ गाडीको तातो र बाहिरको तातोले सास्ती हुने गरेकाले पनि कम यात्रु सवारीले पाउने गरेका छन्।


संघको दैनिक २ सय ३० टेम्पो तथा माईक्रो चितवनका स्थानिय रुटमा चल्छन्। यात्रु नभएपछि आम्दानी पनि घटेको सचिव आलेले बताए।’ दिनभर खाली कुदाउछन् साँझ मुस्किलले पाँचसय दिएर जान्छन,उनले भने त्यतिले पेट्रोल,मविल र मर्मत खर्च धान्नै मुस्किल पर्छ।’ अघिल्ला वर्ष यही समय दिनको कम्तीमा आठसय प्रति सवारी उठ्ने गरेको जानकारी उनले दिए। गर्मीले छोटो मात्र हैन लामो दुरीका सवारी पनि कम चल्छन् सडकमा। दैनिक दुईसय यात्रु बस र मिनीबस चल्ने नारायणी यातायातको अहिले २० प्रतिशत सवारी कटौती गरिएको फिल्ड ईन्चार्ज शंकर गिरीले बताए। दिउसो त आधाजसो नै सवारी चलाउन बन्द गरेका छौ उनले भने मान्छे नै हुँदैन खाली चलाएर इन्धन चर्खमात्र बढ्छ। राती चल्ने सवारीमा पनि आधा मात्र मान्छे हुने गरेको जानकारी उनले दिए। सो यातायातको पूर्वपश्चिम तथा राजधानी जाने लामो दुरीका यात्रु बस रहेका छन्। चितवनमा दैनिक पाँचहजार सवारी चल्ने गरेकामा गर्मीले आधा घटेको यातायात व्यवसायीहरुले बताए।


गर्मीले यात्रु हवाई जहाजका पनि घटेका छन्। भरतपुर विमानस्थलबाट आवतजावत हुने वुद्ध र यति एयरलायन्समा आधा यात्रु घटेका छन्। बिहानै चल्ने वुद्धको ४७ सिटे विमानमा अचेल बढीमा तिसजना मात्र हुने गरेका छन्। त्यस्तै १८ सिटको विमानमा दशजना र यतिको तीस सिटको विमानमा १५ जनाको हाराहारीमा यात्रु आउने गरेका छन्। पहिले यही सिजनमा घुमफिरका लागि पनि फुल यात्रु आउथे अहिले आधा नै घट्यो भरतपुर विमानस्थलका बरिष्ट अधिकृत केशव लम्साल भन्छन्। तापक्रम बढेपछि दिउसो चल्ने यतिको जहाज चलाउन संचालकले आनाकानी गर्ने गरेको उनले बताए।


विमानस्थलको रनवे तापक्रमले तातेपछि यतिको जहाजमा समस्या ल्याउने भन्दै बिहानै चलाउने गरेको उनी बताउछन्। विमानस्थलको तापक्रम विभागका अनुसार अहिले चितवनमा दिउसो ४० डिग्रीको हाराहारीमा तापक्रम रहेको छ। पानी नपरेकाले तातो हावा दिउसो चल्ने गरेको छ। बिहान यहाँ ३६ डिग्रीबाट बढ्दै अपरान्हसम्म ४० डिग्री पुग्ने गरेको छ।

अन्य समाचारहरु