चितवन – चितवनमा डेङ्गु रोगको प्रकोप फैलने खतरा बढेको स्वास्थ्यकर्मीहरुले बताएका छन्। सन् २०१० मा नेपालमै पहिलोपटक डेङ्गुको महामारी फैलिएको थियो जसका कारण चितवनमा झन्डै दुई दर्जन व्यक्तिको ज्यान गएको थियो।
तथ्याङ्कअनुसार मेनेन्जाइटिस रोगको समेत सङ्क्रमण रहेकी नवलपरासीकी एक महिलाको भरतपुर अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो।
गत भदौ महिनादेखि जेठसम्मको तथ्याङ्क सार्वजनिक गर्दै जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले १११ जनाको रगत परीक्षण गरिएकामा ६७ जनामा डेङ्गु फेला परेको जानकारी दिए।
उनका अनुसार तीमध्ये चितवनका ४२ जना डेङ्गुका रोगी छन्। बाँकी नवलपरासी, तनहुँ, मकवानपुर र अन्य जिल्लाका रहेका छन्। चितवनमा यो सालको वैशाखमा एक र जेठमा तीनजनामा डेङ्गु रोगी फेला परेको कार्यालयले जनाएको छ।
यसपटक गर्मी बढ्दै जान थालेको र पानी पनि पर्न थालेकाले डेङ्गु फैलनसक्ने भन्दै सावधानी अपनाउन जनस्वास्थ्यका प्रमुख केहरसिंह गोदारले सचेत गराएका छन्।
भरतपुर अस्पतालका विजय पौडेलले यसको कुनै उपचार नभएकाले घर वरपर सफा राख्ने, पानी जम्न नदिने र लामखुट्टेको टोकाइबाट बच्ने नै महत्वपूर्ण उपचार भएको बताए।
एडिस एजिप्टाई जातको सङ्क्रमित पोथी लामखुट्टेले टोकेमा डेङ्गु रोग लाग्ने चिकित्सकहरुले बताएका छन्। डेङ्गु लामखुट्टेको टोकाइबाट सर्ने सरुवा रोग हो।
डेङ्गुको विषाणुद्वारा सङ्क्रमित एडिस एजिप्टाई नामको पोथी लामखुट्टेले टोकेमा यो सर्छ। यो लामखुट्टेले सफा पानीमा फूल पार्ने गर्छ। यो रोग लागेमा ज्वरो आउने, टाउको दुख्ने, आँखा, ढाड, जोर्नी तथा मांसपेसीहरु दुख्ने र शरीरमा बिबिरासमेत आउने गर्दछ। यसको खासै उपचार छैन।
चितवनको भरतपुर अस्पतालका चिकित्सक विजय पौडेलका अनुसार ज्वरो घटाउन सिटामोल औषधिसँगै प्रशस्त झोलिदो पदार्थ खाने गर्नुपर्छ। रोग लागेको शङ्का लागेका तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्दछ।
सन् १९०० तिर अफ्रिकाको एक प्रान्तमा डेङ्गु देखापरेको हो। त्यसपछि अन्य देशहरुमा पनि क्रमैसँग यो फैलिएको पाइएको थियो। नेपालमा सन् २००४ मा चितवनमा पहिलोपटक डेङ्गु रोग देखा परेको हो। रासस



