महँगो शुल्क लिएर पढाउने निजी विद्यालयमा नतिजा खस्कियो, सरकारी विद्यालयको उत्तीर्ण विगतको भन्दा राम्रो

– मकर श्रेष्ठ, कान्तिपुर

 

भक्तपुर – महँगो शुल्क लिएर पढाउने निजी विद्यालयमा समेत यस वर्ष नतिजा खस्किएको छ । यस वर्षको एसएलसीमा भक्तपुरमा दुई वटा निजी विद्यालयमा विद्यार्थी उत्तीर्ण शून्य रहेको छ । तर सामुदायिकमा कुनै पनि विद्यालयमा विद्यार्थी उत्तीर्ण शून्य छैन ।

जिल्ला शिक्षा कार्यालय भक्तपुरका अनुसार व्यासीको जोन इङलिस स्कुल र गपालीको सिद्धिदास माविमा विद्यार्थी उत्तीर्ण शून्य छ । जोन स्कुलबाट १२ जना र सिद्धिदासबाट २ जनाले परीक्षा दिएका थिए । ‘दुवै स्कुलमा विद्यार्थी उत्तीर्ण शून्य छ,’ जिल्ला शिक्षा अधिकारी दीपक काफ्लेले भने, ‘निजी विद्यालयमा मात्रै पढाइ राम्रो हुन्छ भन्ने तर्क यो नतिजाले गलत सावित गरेको छ ।’


त्यस्तै यालाछेको शिक्षा निकेतन मावि, ठिमीको सिद्धिकाली मावि, व्यासीको श्रमिक आदर्श मावि, व्यासीकै प्रभात माविले १५ प्रतिशत पनि विद्यार्थी उत्तीर्ण गराउन सकेनन् । कार्यालयका अनुसार शिक्षा निकेतनले ४ दशमलव ५, सिद्धिकालीले ८ दशमलव ३, श्रमिक आदर्शले ९ दशमलव ७ र प्रभातले १२ दशमलव ५ प्रतिशत विद्यार्थी उत्तीर्ण गराएका छन् ।


भक्तपुरबाट १ सय ३५ निजी विद्यालयका ३ हजार ९ सय ३ विद्यार्थी एसएलसीमा सहभागी भएकामा ३ हजार ५ सय ४५ जनामात्रै उत्तीर्ण भएका छन् । निजी विद्यालयको उत्तीर्ण प्रतिशत ९० दशमलव ८ रहेको छ । त्यसमा १ हजार २ सय १४ जना विशिष्ट श्रेणी, २ हजार ८६ पहिलो, २ सय ३६ दोस्रो र ९ जना तेस्रो श्रेणीमा उत्तीर्ण भएका छन् । ७० निजी विद्यालयले मात्रै शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएका छन् । त्यसमा महेन्द्र विद्याआश्रम अंग्रेजी माध्यमिक विद्यालयमा अध्ययन गरेकी आरति श्रेष्ठले ९३ दशमलव ६२ प्रतिशत अंक ल्याएकी छन् । विद्यालयले उनी छात्रातर्फ सर्वोत्कृष्ट भएको दाबी गरेको छ । त्यस्तै बालकोटको माउण्ट भ्यु इङलिस बोर्डिङ स्कुलका इराज पराजुलीले ९३ दशमलव ८७ र सुस्मिता थापाले ९३ प्रतिशत अंक ल्याएका छन् । विद्यालयले पराजुली मुलुककै तेस्रो र थापा छात्रातर्फ दोस्रो भएको दाबी गरेको छ ।


 भक्तपुरको यस वर्षको नतिजाले निजीमा मात्रै राम्रो पढाइ हुन्छ भन्ने गलत पुष्टि गरेको काफ्लेले बताए । ‘यसले निजी स्कुल पनि कमजोर छ भन्ने संकेत गर्छ,’ उनले भने, ‘सबैले शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सकेका छैनन् । यसले निजी विद्यालयमात्रै राम्रो हो भन्ने खण्डन गर्छ ।’ समुदाय जागरुक भएको स्कुल राम्रो रहेको उनले बताए । च्यामासिंहस्थित बागेश्वरी उच्चमाविको उदाहरण दिंदै भने, ‘यहाँ पढेका विद्यार्थीले ९० प्रतिशतसमेत अंक ल्याएका छन् ।’ उक्त विद्यालयबाट १ सय ८९ जनाले परीक्षा दिएकामा १ सय ४७ जना विद्यार्थी उत्तीर्ण भएका छन् । त्यसमा नौजना विशिष्ट श्रेणीमा उत्तीर्ण भएका छन् । जोरपाटी मावि र तारा माविले ९५ प्रतिशत विद्यार्थी उत्तीर्ण गराएका छन् ।


सामुदायिक विद्यालयको उत्तीर्ण विगतको भन्दा राम्रो रहेको कापmलेले बताए । उनका अनुसार ३७ वटा सामुदायिक विद्यालयबाट १ हजार ९ सय ८३ विद्यार्थी परीक्षामा सहभागी भएका थिए । त्यसमा १ हजार २ सय ७ जना उत्तीर्ण भएका छन् । १५ प्रतिशतभन्दा कम विद्यार्थी उत्तीर्ण हुनेमा नगरकोटको कालिका माविमात्रै रहेको छ । यस विद्यालयबाट १५ जनाले परीक्षा दिएकामा १ जनामात्रै उत्तीर्ण हुँदा ६ दशमलव ७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।  बागेश्वरी उच्च माध्यमिक विद्यालयबाट परीक्षा दिएका भक्तपुर २ जेलाका रविसन दुवालले ९० दशमलव १२ प्रतिशत अंक ल्याएका छन् ।


 जिशिअ काफ्लेका अनुसार एसएलसीमा भक्तपुरको उत्तीर्ण प्रतिशत ८० रहेको छ । त्यसमा सामुदायिकतर्फ ६० र निजीमा २० प्रतिशत रहेको काफ्लेले जानकारी दिए ।

अन्य समाचारहरु