परासी – रामग्राम नगरपालिकाले अगामी साउन महिनादेखि घरको नक्सा पास गराउँदा चर्पी र घर वरिपरि विरुवा रोप्ने स्थानसमेत नखुलाई आउने जो सुकैको नक्सा पास नगर्ने भएको छ । सन् २०१५ सम्ममा नगरपालिकालाई खुला दिसामुक्त नगरपालिका घोषणा गर्ने र नगरपालिकालाई हरित नगरको घोषणा गर्ने भएकाले नक्सा पास गर्दा दुवै सर्त पूरा गरेर आउनेको नक्सा मात्र पास गर्ने नीति अगाडि सारेको हो । यसै नीतिअनुसार नगरपालिकामा नक्सा पास गर्न आउँदा चर्पी र बिरुवा अनिवार्य गरिएको नगरपालिकाले जनाएको छ ।
विभिन्न वार्डमा सरसफाइको छुट्टा छुट्टै समिति निर्माण गरी चर्पी बनाउने अभियान एकातिर सारिएको छ, भने हरित नगर घोषणा गर्नका लागि हरित नगर व्यवस्थापन समिति समेत गठन गरिसकेको नगरपालिकाले जनाएको छ । नगरपालिका भित्र रहेका हरेक टोल विकास संस्थामार्फत यी दुवै सर्त पालना गराउन जानकारी गराइसकिएको नगरपालिकाका सहरी विकास शाखाका प्रमुख भगौती प्रसाद यादवले बताए । उनले पहिला प्रचार प्रसारलाई व्यापकता दिएको र अगामी वर्षदेखि कडाइका साथ लागू गर्ने जनाए ।
हरित नगर विकास कोषसमेत खडा गरी हरित नगर अभियानलाई अगाडि बढाउन लागेको यादवले बताए । हरित नगर विकास कोष सञ्चालन कार्यविधि र निर्देशिका निर्माणका लागि जिल्ला भू संरक्षण अधिकृत सम्पूर्णानन्द गिरीको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिसकेको बताउँदै उनले साउन महिनाभित्रै निर्देशिका जारी गर्दै त्यसलाई अगाडि बढाइने जानकारी गराए । शान्तिका दुत गौतम बुद्धको अस्तुधातु रहेको यस नगरपालिका क्षेत्रलाई हराभरा सफा स्वच्छ बनाई नेपालमै हरित नगरका रूपमा चिनाउने योजना रहेको उनले बताए ।
अभियानलाई सफल गराउन सरसफाइका लागि चर्पी निर्माण गर्नेलाई ग्रिन कार्ड दिन लागिएको बताउँदै चर्पी नबनाउने नगरबासीलाई विभिन्न टोल विकास संस्थामार्फत दिँदै आएको ऋण सेवा बन्द गरिसकिएको उनले बताए । अझ यस कार्यले तिब्रता नपाए सिफारिस लगायतका अत्यावश्यक सेवा पनि राजनीतिक दलको सहमतिमा बन्द गरिने बताए ।



