शिव शर्मा
कास्की – सार्दिखोलाको भुजुङखोलामा मनबहादुर तामाङको कुखुरा फार्ममा पसेको चितुवाले सोमबार ४३ कुखुरा मारेको छ ।
कुखुरालाई दाना हाल्न बिहान खोरमा जाने क्रममा सञ्चालक तामाङले मरेका कुखुरा र चितुवा फार्मभित्र फेला पारेका हुन् ।
यसअघि पनि पटक-पटक चितुवा कुखुरा फार्ममा आए पनि कुखुरा मारेको पहिलोपटक भएको तामाङले बताए । जिल्ला वन कार्यालय र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को पहलमा फार्ममा पसेको चितुवा नियन्त्रणमा लिइएको हो ।
‘तीन घण्टा लगाएर चितुवा नियन्त्रणमा लिएको हो’ एक्यापका संरक्षण अधिकृत अशोक सुवेदीले भने, ‘चितुवालाई पुम्दीभुम्दी वनमा लगेर छाडिएको छ ।’ नियन्त्रणमा लिइएको चितुवा झण्डै तीन वर्षको भएको सुवेदीले बताए ।