इजरायलमा ८० हजार नेपाली कामदारको माग

काठमाडौ  – कामदार निर्यातसम्बन्धी सुरक्षित र व्यवस्थित संयन्त्र बन्न सके इजरायलमा ८० हजारसम्म नेपाली कामदारको माग रहेको इजरायली राजदूत हनान गोडर गोल्डबर्गरले बताएका छन् ।

‘अहिले केयर-गिभर, कृषि मजदुरसहित इजरायलमा आठ हजार नेपाली कामदार छन्,’ दूतावासका गतिविधिबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा राजदूत गोल्डबर्गरले भने, ‘तर कामदार पठाउँदा लिने रकम, उचित प्रक्रिया र अनुगमन पद्धति निर्धारण नहुन्जेल संख्या बढाउन सकिने अवस्था छैन ।’ नेपाली कामदारबाट म्यानपावरले उठाउने मनोमानी रकम र ‘नमिल्दो नियम’ समस्याको जड भएको उनले बताए । यसका लागि द्विदेशीय संयन्त्र आवश्यक रहेको उनको भनाइ थियो ।

इजरायलमा बढीमा पाँच वर्ष बस्ने अनुमति पाएका कामदारले नेपाल फिर्दा कृषिलगायत क्षेत्रमा राम्रो सीप सिकेर आउने उल्लेख गर्दै उनले जितपुरफेदीलगायत स्थानमा त्यहाँबाट फिरेकाले थालेको तरकारी खेती प्रशंसनीय भएको बताए ।