नयां दिल्लीमा अध्ययनरत एक २० वर्षीय नेपाली विद्यार्थीको सडक दुर्घटनामा मृत्यु

 – महेश आचार्य

 

नयां दिल्ली – भारतीय राजधानी नयां दिल्लीमा अध्ययनरत एक जना नेपाली विद्यार्थीको सडक दुर्घटनामा मृत्यु भएको छ । सोमवार सडक पार गर्ने क्रममा तीव्र गतिमा आएको मोटरसाइकलले ठक्कर दिएपछि धनगढी चौराहाका २० वर्षीय जितेन्द्र शाहको मृत्यु भएको हो । भारतीय बोर्ड इन्स्िटच्युट अफ चार्टर्ड एकाउण्टेन्ट्स् अफ इण्डिया अन्तर्गत अध्ययन गरिरहेका जितेन्द्र हालसालै इन्टरमेडियट तहको परीक्षा सकेर बिदामा धनगढी जाने तयारीमा थिए ।

दुर्घटना भएको झण्डै दुई दिन भइसक्दा पनि ठक्कर दिने मोटरसाइकलका चालकलाई स्थानीय प्रहरीले पक्रन सकेको छैन । मोटरसाइकलसमेतको पहिचान गर्न प्रहरी विफल भएको छ । नम्बर हेर्न नभ्याइएपनि मोटरसाइकल चांदी रंगको रोयल एन्फील्ड भएको प्रत्यक्षदर्शी विद्यार्थी एवम् जितेन्द्रका साथी विजय त्रिपाठीले बताए । मोटरसाइकलले ठक्कर दिएपछि गम्भीर घाइते भएका जितेन्द्रलाई सुरुमा नजिकैको वालिया नर्सिंङ होम लगिएको थियो । लगत्तै उक्त नर्सिंङ होमले रिफर गरेपछि लालबहादुर शास्त्री अस्पताल पुर्याइएका जितेन्द्रको त्यही मृत्यु भएको थियो ।

साथीको मृत्युपछि आक्रोशित नेपाली विद्यार्थीहरुले स्थानीय प्रहरीले पर्याप्त सहयोग नगरेको गुनासो गरे । ‘एफआइआर दर्ता गरेपनि प्रहरीले दोषीको खोजविनमा पर्याप्त चासो देखाएन,’ विद्यार्थीहरुले भने । विद्यार्थीहरुले स्थानीय सकरपुर प्रहरी थानामा पहिलो सूचना प्रतिवेदन एफआइआर दर्ता गराएका छन् ।

विद्यार्थीहरुले दोषीमाथि कारवाहीको माग गर्दै मंगलवार लक्ष्मीनगर क्षेत्रमा दुई घण्टा सडक समेत अवरुद्ध पारेका थिए । लगत्तै ठूलो संख्यामा विद्यार्थीहरु नेपाली दूतावास पुगेपछि स्थिति केहीबेर तनावपूर्ण बनेको थियो । नेपाली विद्यार्थीको दुर्घटनामा मृत्यु हुंदा समेत दूतावासले पर्याप्त चासो नदेखाएको गुनासो उनीहरुले गरे । उनीहरुले मंगलवारै कार्यवाहक राजदूत खगनाथ अधिकारीलाई भेटी आफ्ना गुनासोहरु राखेका थिए । जवाफमा अधिकारीले घटनाको छानविन र दोषीमाथि कारवाहीको प्रक्रिया छिटो अघि बढाउन भारत सरकारलाई अनुरोध गर्ने बताए ।