पक्राउ परेका युवतीहरुले लामाले पठाएको ठाउँमा गएर यौनजन्य कार्यमा संलग्न हुने गरेको खुलाएका छन् भने लामाले पनि आफु होटलहरुको सम्पर्क सुत्र भएको स्वीकार गरेका छन्।
पर्स्याङमा मंलबार राति चेकजाँच गर्ने क्रममा एउटा ट्याक्सीमा चार युवती लेकसाइडको एक होटलमा लैजाँदै गर्दा पक्राउ परेका हुन्। पक्राउ पर्नेमा गोरखा मान्वु घर भएकी बाग्लुङ बसपार्कमा बस्ने २१ वर्षीया आशा न्यौपाने, पोखरा-६ बाराहीचोक बस्ने वर्ष १९ कि सुनिता लामा, सिन्धुली घर भई पोखरा बस्ने वर्ष २४ कि पुजा तामाङ र पर्वत घर भई पोखरा बस्ने वर्ष १९ कि पुनम गुरुङ छन्। उनीहरुको बयानका आधारमा प्रहरीले भेटघाट खाजाघरका सञ्चालक लामालाई सोही रात पक्राउ गरेको हो।
‘लामाले पोखराका विभिन्न होटलमा युवती सप्लाई गर्ने गरेको स्वीकारेका छन्’ वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक शेरबहादुर चन्दले भने,’युवतीहरुले पनि आफुहरु यौन व्यवसायमा संलग्न रहेको खुलाएका छन्।’
प्रहरीले उनीहरु पाँचै जनालाई सार्वजनिक अपराधको मुद्दा चलाएको छ। पक्राउ पर्ने युवतीहरु पटके यौन व्यवसायी भएको प्रहरी निरीक्षक चन्दले बताए। उनकाअनुसार केही दिनअघि मात्रै थुनामुक्त भएकी युवती समेत पुन पक्राउ परेकी थिइन्। आफुहरुको बाँच्ने व्यवसायनै यही भएकाले प्रहरीले पक्राउ गरि सार्वजनिक मुद्दा लगाए पनि छुटेपछि फेरी त्यही काममा फर्कने गरेको ती युवतीले बताए।
प्रहरीकाअनुसार पोखरामा यौनजन्य गतिविधि बढेको छ। पछिल्लो ५ महिनामा मात्रै यौनकार्यमा संलग्न ६५ जनालाई पक्राउ गरि सार्वजनिक मुद्दा चलाएको प्रहरीले जानकारी दिएको छ। त्यसमध्ये ८ भारतीय पर्यटक समेत छन्। पक्राउ कुल संख्यामध्ये यौन व्यवसायमा संलग्न ३४ युवती, नेपाली पुरुष २३ र भारतीय पर्यटक ८ जना रहेका छन्।
पोखरा पर्यटन परिषद्का अध्यक्ष टीकाराम सापकोटाले भने होटलहरुमा अवैध यौन कार्य हुने गरेको भनाईप्रति असहमति जनाएका छन्। उनले होटलहरुमा जथाभावी हुने नाममा रात वि रात छापा मारेर पर्यटकलाई दुःख दिन नहुने बताए।
प्रहरीले सुराकीका आधारमा होटलहरुबाट अवैध गतिविधि गर्नेलाई पक्राउ परे पनि प्रमाण जुटाउन नसक्दा यौनजन्य अपराधको मुद्दा अघि बढाउन समस्या हुने गरेको छ। प्रहरीसँगको बयानमा यौनजन्य कार्यमा संलग्न रहेको स्वीकार गरे पनि सबै युवतीले अदालतमा बयान फेर्ने भएकाले प्रमाण पेश गर्न कठिन हुने गरेको छ। यसैले प्रमाणको अभावमा जीउ मास्ने/बेच्ने अपराधमा नभई सार्वजनिक मुद्दा चलाउने गरेको प्रहरी निरीक्षक चन्दले बताए।
‘हामीले होटलबाट रंगेतहात पक्राउ गरेर ल्याएपछि सबैले यौन कार्यमा संलग्न रहेको स्वीकार गर्छन्’ चन्दले भने,’अदालत गएपछि उनीहरु बयान फेर्छन्। हामीलाई प्रमाण पेश गर्न अप्ठेरो हुन्छ।’



