धनुषा अस्पतालमा जबर्जस्ती बच्चा निकाल्न खोज्दा शिशुको टाउको चुँडियो

– सुरेश यादव, नागरिक

 

जनकपुर – जनकपुरस्थित धनुषा अस्पतालमा प्रसूति गराउने चिकित्सकको लापरबाहीले हिजो एक शिशुको ज्यान गएको छ। धनुषा इनर्वा- ७ कजरारमौलकी २२ वर्षीया सविता यादवको सात महिनाको गर्भ डेलिभरी गराउने क्रममा शिशुको शिर नै चुँडिएर मृत्यु भएको हो। बाँकी शरीर डेढ घन्टापछि मात्र शल्यक्रियाबाट निकालिएको छ।

 

चिकित्सकका अनुसार सुत्केरीको अवस्था खतरामुक्त छ।


महिना नपुग्दै प्रशव पीडा भएपछि अस्पताल आएकी सविता बिहान साढे चार बजे धनुषा अस्पताल भर्ना भएकी थिइन्। अस्पतालमा विशेषज्ञ चिकित्सक थिएनन्। चार घन्टापछि साढे आठ बजेतिर अस्पतालकै एमबिबिएस चिकित्सक जयप्रकाश पण्डितले सबिताको पहिलो जाँच गरेका थिए।

पण्डितलाई सघाइरहेकी एक नर्सका अनुसार चिकित्सकले जाँच सुरु गर्दा नै पाठेघरको मुख खुलिसकेको थियो। पण्डितले तत्कालै मुख बन्द गर्ने औषधी दिए पनि रोक्न नसकेपछि साढे १० बजेतिर आफैं लेबर रुम लगेको ती नर्सले बताइन्।

प्रसूतिविज्ञबिनै पण्डितले जबर्जस्ती बच्चा निकाल्न खोज्दा शिशुको टाउको छुट्टिएको ती नर्सको भनाइ छ। बिरामीको अवस्था असामान्य हुँदा विशेषज्ञ चिकित्सक बोलाउनुको साटो पण्डितले अस्पतालमै उपलब्ध नर्सको सहयोगमा असुरक्षित तरिकाले बच्चा निकाल्ने प्रयास गरेका थिए। घटनालगत्तै पण्डित फरार छन्।

अस्पतालकी गाइनोकोलोजिस्ट सोनिया सिंहले चिकित्सककै लापरबाहीले शिशुको मृत्यु भएको सकारेकी छन्। प्रसूति शाखाको रेकर्डमा बिहान ११:४५ मै बच्चा जन्मेको रेकर्ड छ तर सोनियाले आफूलाई एक बजेमात्र घटनाबारे जानकारी बताइन्। उनका अनुसार बच्चाको घाँटीमुनिको भाग निस्केको करिब डेढ घन्टापछि मात्र शल्यक्रिया गरेर बच्चाको बाँकी शरीर निकालिएको थियो।


अन्य समाचारहरु