जेलका प्रमुख आएर आूउदो हप्ता करिब ३ सय नेपालीलाई स्वदेश पठाउने बचनदिएपछि भोकहड्ताल तोडेको ९ महिनादेखि जेलमै रहेका सफेद अलीले बताए । ‘कर्णेल आएर आउदो हप्ता ३ सयलाई उठाउने बचनदिनुभएपछि भोकहड्ताल तोड्यौं’, बाँकेका अलीले फोनमा भने । पहिलोपटक नेपालीले जेलमा रोटी बहिष्कार गरेपछि जेलप्रमुख कर्णेलले राजदुत पाण्डेलाई फोन गरी रिसाएका थिए । ‘सफर जेलबाट सबैभन्दा बढी नेपाली गइरहेका छन् । फेरी उनीहरुनै हाम्रो रोटी बहिष्कार गर्ने’, कर्णेलको भनाई उद्धत गर्दै दुताबासका एकअधिकारीले भने,’उनीहरु आफै गैरकानुनी हुने । अनि, उल्टै हाम्रो नियम उलंघन गर्ने ।’
भोकहड्ताल फिर्ता लिनको लागि दुताबासले दमामस्थित कर्मचारी हरिप्रसाद घिमिरेलाई जेलमा पठाएको थियो । राजदुत पाण्डेका अनुसार १९ दिनदेखि जेलबाट नेपाली स्वदेश गएको छैन् । टिकट अभाबले बन्दीलाई डिपोर्ट गर्न नसकेको पाण्डेले बताए । ‘जेल परेका कामदारलाइ स्वदेश फिर्ने टिकट जेल प्रशासनले उपलब्ध गराूउछ । अहिले बिदाको समय भएकोले जहाजको टिकटको अभाब छ’, राजदुत पाण्डेले भने,’जेलभित्र रहेका मध्ये आज (बिहीबार) २० जना र आइतबार एकसय ५० जनालाई स्वदेश पठाइने प्रबन्ध मिलाएको छ ।’
राजदुत पाण्डेले साउदीमा भाग्ने प्रबृत्तिले गर्दा यो स्थिति आएको बताए । ‘कम्पनी छाडेर भागेपछि उनीहरु गैरकानुनी हुन्छन् । त्यस्ताहरु घरजान अनिबार्य जेल जानुपर्छ’, उनले भने,’यसले गर्दा सफरजेलमा नेपालीको भीड लागेको छ ।’ दुताबासले हरेक महिना कम्तीमा पाँचसय नेपालीलाई जेलबाट स्वदेश पठाउने गरेको छ ।



