कामको सिलसिलामा गत चैत १४ गते इटली पुगेका भट्टराईको उपचारको क्रममा असार १४ गते इटलीको एक अस्पतालमा मृत्यु भएपछि दाहासंस्कारका लागि रकम अभाव भएको उनका दाजु शालिकरामले बताए । उनले भाइको लास झिकाइदिन वा आर्थिक सहयोग उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।
भट्टराईको मृत्यु भएपछि इटलीमै दाहासंस्कार गर्न ७ सय युरो (७० हजार नेपाली रुपैयाँ) लाग्ने र नाता प्रमाणितसहित कागज पत्र पठाउन इटली दूतावासमार्फत परराष्ट्र मन्त्रालयले जिल्ला प्रशासनमा पत्रचार गरेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत प्रदीपज्योति श्रेष्ठले बताए । परिवारलाई त्यसबारे प्रहरीमार्फत जानकारी गराइएको उनले बताए ।
गत चैत १४ गते स्याङजाका क्षेत्रकुमार श्रेष्ठले काम गर्ने भिसा मिलाएर भट्टराईलाई इटली लगेको दाजु शालिग्रामले बताए । विदेश जानु पहिला घरमा हुँदा पत्थरीको अप्रेशन गराएको र पछि अप्रेशन बिग्रिन पुगेको शालिकरामले बताए । उनका अनुसार भाइमा जण्डिसको लक्षण समेत देखा परेको थियो । अविवाहित दुर्गा स्वास्थ्यमा सुधार आएपछि इटली गएका थिए ।



