हवाई मार्ग हुँदै चरेस लैजान लागेका अस्ट्रियन नागरिक पोखरा विमानस्थलबाट पक्राउ

– सन्तोष पोखरेल, नागरिक

 

पोखरा – हवाई मार्ग हुँदै चरेस लैजान लागेका अस्ट्रियन नागरिक रेन्डिल हर्वट सोमबार पोखरा विमानस्थलबाट पक्राउ परेका छन्। प्रहरीका अनुसार उनी काठमाडौं हुँदै स्वदेश फर्किने तयारीमा थिए।

 

उनको साथबाट करिब साढे चार किलो चरेस बरामद भएको प्रहरीले जनाएको छ। हातेझोला बोकेर विमानस्थलको भित्री गेट प्रवेश गर्न लाग्दा शंकाका आधारमा शरीर र झोला खानतलासी गर्दा चरेस भेटिएको कास्की प्रहरी प्रमुख शैलेश थापाले जनाए।


हर्वटले पुरुषको लिंगको आकारमा कन्डमभित्र चरेस राखेर गुप्तांग र च्यावनप्रासको बट्टामा लुकाएका थिए। बट्टाभित्र चरेस राखेर माथिबाट च्यावनप्रासले छोपिएको थियो। ‘चेकजाँच गर्दा गुप्तांग ठूलो भेटिएपछि शंका लागेर हेर्दा चरेश फेला पर्‍यो,’ मंगलबार हर्वटलाई सार्वजनिक गर्दै एसपी थापाले भने, ‘च्यावनप्रासको बट्टामा पनि चरेस राखेर आकर्षक ढंगले प्याक गरिएको थियो।


हर्वटले दुई किलोका दुइटा र आधा किलोका दुइटा बट्टाभित्र च्यावनप्रासको लेप लगाई चरेस लुकाएका थिए। त्यस्तै अन्य बट्टामा अचार र नेपाली मसला पनि झोलामै राखेर उनले लैजान लागेको थापाले जानकारी दिए। ‘सुरुमा अचार, मसला र च्यावनप्रास लैजान लागेको भनेर झुक्याउन खोजेका थिए,’ उनले भने, ‘तर पछि चरेस फेला पर्‍यो।’ हर्वटले प्रतिकिलो ६० हजार रुपैयाँमा चरेस किनेको बयान दिएका थिए।


हर्वटलाई चरेस बेच्ने व्यक्तिको खोजी भइरहेको एसपी थापाले बताए। ‘उनले हुलिया मात्र भनेका छन्, वास्तविक परिचय खुलेको छैन,’ थापाले भने, ‘हर्वटले मान्छे मात्र चिन्ने तर नाम ठेगाना नचिन्ने बताएका छन्।’


मोबाइल कल अनुसन्धानबाट पनि अझैसम्म चरेस कारोबारी पत्ता नलागेको उनले बताए। हर्वटले यसअघि पनि पोखराबाट यसैगरी ठूलो परिमाणमा चरेस लैजान सफल भएको बयान प्रहरीसमक्ष दिएका छन्।


प्रहरीले लागूऔषध कारोबार ऐनअनुसार हर्वटलाई कारबाही चलाउने तयारी गरेको छ। जसअन्तर्गत दुईदेखि पाँच वर्षसम्म कैद सजायको व्यवस्था छ। अस्ट्रियन दूतावासमा समेत यसबारे जानकारी गराइने एसपी थापाले बताए।

अन्य समाचारहरु