बस दुर्घटनामा अझै केही बेपत्ता, खोजी कार्य जारी

 धादिङ, २ साउन धादिङको कृष्णभीरमा सोमबार भएको बस दुर्घटनामा हराइरहेकाहरुको खोजी भैरहेको छ । केही मानिस त्रिशुली नदीमा हराएको आशंका गरिएपनि यकिन संख्या थाहा हुन नसकेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।
 
बसमा ५२ जनाभन्दा बढी यात्रु रहेको घाइतेहरुले बताएका छन् । उदयपुरको कटारीबाट काठमाडौका लागि छुटेको ना २ ख ४९५१ नम्बरको बस सोमबार बिहान त्रिशुली नदीमा खस्दा १७ जनाको ज्यान गएको थियो भने १५ जना घाइतेको उद्दार गरिएको छ ।
 
घाइतेहरुमध्ये  ९ जनाको अस्पतालमा २ जनाको बिएण्डबीमा १ जनाको सैनिक अस्पतालमा र ३ जनाको शिवज्योति अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव निरीक्षक गणेश रेग्मीले जानकारी दिए  । दुर्घटनामा ६ जनाको घटनास्थलमै ४ जनाको उपचारका क्रममा ज्यान गएको हो भने ७ जनाको शव प्रहरीले नदीमा डुविरहेको बसबाट वाहिर निकालेको थियो  ।
 
नदीमा अझै केही यात्रु बेपत्ता भएको हुन सक्ने प्रहरीको अनुमान छ । उदयपुरको कटारीवाट ५२ जना यात्रुको चलानी लिएर हिँडेको बसले बीच बाटोमा समेत यात्रु चढाएकोले ६० जना भन्दा बढी यात्रु बसमा रहेको घाइतेहरुले बताएका छन् । एकीकृत नेकपा माओवादीका राज्य समिति सदस्य सिन्धुलीका दिपक चौधरी लगायतका केही ब्यक्तिहरु हराइरहेका छन् ।

-RSS

अन्य समाचारहरु