मुलुक बाहिर रहेका नेपाली नागरिकहरूले मतदान गर्ने पाउने

निर्वाचन आयोगका पदाधिकारीहरूको नेतृत्वमा तीनवटा टोली मुलुक बाहिर रहेका नागरिकहरूलाई कसरी मतदाता नामावलीमा समावेश गर्ने, कुन प्रक्रियाबाट मताधिकार दिने, मतदानका दिन अनुपस्थित हुने व्यक्तिलाई कसरी मताधिकार दिन सकिन्छ भनेर तीनवटा मुलुकमा अध्ययन भ्रमणमा जाने भएका छन् ।

 

मन्त्रिपरिषद्ले आयोगका आयुक्त दोलखबहादुर गुरुङको नेतृत्वमा फिलिपिन्स, आयुक्त अयोधीप्रसाद यादवको नेतृत्वमा थाइल्यान्ड र सचिव शंकर कोइरालाको नेतृत्वमा दक्षिण कोरियामा अध्ययन भ्रमणमा जान सहमति दिएको छ । ती तीनवटै मुलुक विदेशमा धेरै नागरिक भएका र उनीहरूलाई मताधिकार दिँदै आएका मुलुक भएकाले तिनको अनुभव अध्ययन गर्न तीनवटा टोली भ्रमणमा जान लागेको जानकारी आयोगका प्रवक्ता शारदाप्रसाद त्रितालले दिए ।

 

‘मुलुक बाहिर रहेका नागरिक, मतदानका दिन जरुरी काम परेर अनुपस्थित हुने व्यक्ति या आफ्नो क्षेत्रमा नभई अर्कोमा मतदानमा खटिने कर्मचारीलाई कसरी मताधिकार दिने, विदेशमा कसरी मतदान केन्द्र राख्ने, साधनस्रोत कसरी जुटाउने, विदेशबाट इलेक्ट्रोनिक मतदान कसरी गराउन सकिन्छ ।

 

त्यस्ता व्यक्तिको नामावली रकेर्ड कसरी राखिँदै आएको छ भनी उनीहरूको भूसूचना प्रणालीको समेत अध्ययन गर्न तीन जना पदाधिकारीको नेतृत्वमा आयोगको टोली भ्रमणमा जान लागेको हो’ आयोगका एक अधिकारीले भने- ‘उनीहरूको अध्ययनपछि नेपालमा समेत विदेशमा रहेका नागरिकलाई मतदाता नामावलीमा राख्ने, मताधिकार दिन विदेशमा समेत मतदान केन्द्र राख्ने, मतदानका दिन अनुपस्थित हुने, मतदानमा खटिने कर्मचारीलाई कसरी मताधिकार दिने व्यवस्था गर्ने काम अगाडि बढाइनेछ ।’