दक्षिण अफ्रिकाको पुर्वी कुनोमा पर्ने टापु मदागास्करमा चार महिनादेखि २० नेपाली बिचल्ली

– देवेन्द्र भट्टराई, कान्तिपुर

 

काठमाडौं – वैदेशिक रोजगारीको प्रलोभन दिंदै दक्षिण अफ्रिकाको पुर्वी कुनोमा पर्ने टापु मदागास्करमा चार महिनाअघि पुर्‍याइएका २० नेपाली बिचल्ली स्थितीमा पुगेका छन् । काठमाडौं, दिल्ली र मदागास्करका दलालहरुको जालोमा परेर जनही साढे ३ लाख रुपैंया अशुल्दै हिन्द महासागरको टापुमा पुर्‍याइएका उनीहरु आफूसूग खाना खाने खर्च समेत नरहेको तन्नम स्थितीमा पुगेका छन् ।

मदागास्कर टापुसूग नेपाल सरकारको कुटनीतिक सम्बन्ध नरहेको र सहप्रमाणिकरणको जिम्मेवारी अन्य कुनै मुलुकलाई नतोकिएको कारण परराष्ट्र मन्त्रालयले अलपत्र नेपालीको उद्धारमा इजिप्टको कायरो र दक्षिण अफ्रिकाको प्रिटोरियास्थित नेपाली दुतावासलाई एकसाथ पत्राचार गरेको छ । ‘मदागास्करसूग हाम्रो कुनै प्रकारको कुटनीतिक सम्पर्क नरहेपनि भौगालिक आधारमा यो दुतावासको निकटता रहेकाले पीडित नेपालीसूग सम्पर्क स्थापित गर्ने र उद्धारमा भरथेग गर्ने पहल गरिरहेका छौं,’पि्रटोरियास्थित दुतावासका काउन्सेलर भरत रेग्मीले कान्तिपुरसूग भने । पि्रटोरियाबाट मदागास्कर जान अढाइ घण्टा लामो हवाइ सम्पर्क रहीआएको छ ।

मदागास्करमा अलपत्र बनेका झापा, काकडभिट्टाका खड्गबहादुर दाहालका अनुसार स्थानीय एजेन्टले आफूसहित ५ जनालाई राखेको होटलमा एक महिनादेखि खानपिनको खर्च तिर्न बाकी छ भने चार दिनयता बिजुलीपानी पनि कटौती गरिएको छ । दाहालसहित श्याम आले मगर(मोरङ), लालबाबु ठाकुर(सर्लाही), श्याम श्रेष्ठ (काठमाडौं) र आशिष तामाङ (मोरङ) एउटा होटलमा छन् । दाहालका अनुसार सुसन्थेकस्थित अर्को घरमा ८ जना र तानास्थित होटल लम्पाटमा ७ जना नेपाली बिचल्ली अवस्थामा छन् । उनीहरुलाई काठमाडौंका मुख्य एजेन्ट सुनिल शाही, खेमबहादुर राई (दिल्ली) र यादव नेपाल (मदागास्कर)को जालोमा परेर काठमाडौं, दिल्ली, मुम्बइ, केन्या हुँदै मदागास्कर पुर्‍याइएको थियो । यीमध्ये पीडितका आफन्तहरुको उजुरी र ताकेतापछि एजेन्ट शाहीलाई एक महिनाअघि पक्राउ गरेर हनुमानढोका थुनामा राखिएको छ भने नेपाल मदागास्करमैं छन् । उनीहरुसूग दिल्लीमा नक्कली भिसा, कागजातसहितको ‘सेटिङ’ मिलाउने भारतीय नागरिक रविचन्द्र यादव पनि छन् । पीडित ढकालका अनुसार म्यानपावर एजेन्ट शाहीको जालोबाहेक सामाखुशीका प्रेम सेनले पनि मादागास्करमा ल्याएर अहिले नेपाली अलपत्र पारेका छन् । ढकालले बिचल्ली परेपनि सबैको राहदानी साथमैं रहेको समेत जानकारी दिए ।

‘मैंले असार तेस्रो सातामा बैदेशिक रोजगार बिभाग र परराष्ट्रको कन्सुलर शाखामा निवेदन दिएकी थिएँ । एजेन्ट शाहीलाई पक्राउ गर्नमा पनि सहयोग गरेकी हुँ,’काकडभिट्टा बस्दै आएकी ढकालकी श्रीमती कमला तामाङले फोनमा भनिन्-‘कसरी हुन्छ, मेरा श्रीमान खड्गबहादुरसहित अलपत्र परेका नेपालीलाई घर फिर्ता गराइपाउन ताकेता गरिरहेकी छु ।’ उनले आफूसूग रहेको १ कठ्ठा जमिन धुलाबारीको कृषि विकास बैंकमा धितो राखेर श्रीमानलाई रोजगारीमा पठाएको र अहिले घरजग्गा लिलाम हुने स्थिती आएको समेत जानकारी दिइन् । अर्का अलपत्र लालबाबु ठाकुरका दाजु कपुरी पनि स्वयम्भुमा एक सेलुन चलाएर गुजारा गरिरहेका छन् । ‘भाइ लालबाबु पनि यही सेलुनमा काम गथ्र्यो,’कपुरीले भने-‘के लहरमा हो भाइले विदेश जान्छु भन्यो । अनि फाइनान्सबाट १९ प्रतिशत व्याजमा लिएको २ लाख रुपैंयाको ऋणसहित अरु थपेर उसलाई पठाएको हुू ।’

पि्रटोपरयास्थित दुतावासका काउन्सेलर रेग्मी अफ्रिकी मुलुकलाई ‘ट्रान्जिट’ बनाएर मानव तस्करी गर्नेको संजाल निकै सक्रिय रहेको बताउूछन् । ‘मदागास्करमा देखिएको कामदारको अलपत्र स्थिती पनि यही ट्रान्जिट-भ्रमका कारण आइपरेको हो’,उनले भने-‘यो एक बर्षमा मात्रै हामीले अफ्रिकी मुलुकहरुमा आएर बिचल्ली पर्ने ४० जति नेपालीलाई यात्रा अनुमतीपत्र दिएर घर फर्काएका छौं ।’ गैर आवासीय नेपाली संघ, अफ्रिकाका संयोजक हिक्मत थापाले पनि अलपत्र कामदारसूग फोन सम्पर्क गर्दै उनीहरुको तत्कालिक खानपिन प्रबन्ध र घरफिर्तीको लागि उपाय पहिल्याउन थालेका छन् । उनले मदागास्करमा लामो समयदेखि बस्दै आएका एक दर्जनभन्दा बढी नेपालीको सम्पर्क पहिल्याएर अलपत्र नेपालीको खानपिन भरथेगका लागि पहल गर्ने जानकारी दिए ।

‘एजेन्टको जालोबाट मदागास्कर पुर्‍याइएका नेपाली कामदारका आफन्तको उजुरीअनुसार मुख्य एजेन्ट सुनिल शाहीलाई पक्रेर थुनामा राखिसकिएको छ,’वैदेशिक रोजगार बिभागका अनुसन्धान अधिकृत हरिसिंह धामीले भने-‘अब बिचल्लीको उद्धार गर्ने कार्य र अन्य अनुसन्धानमा पहल जारी रहनेछ ।’