– दुर्गाजंग के.सी
ओक्लाहोमा जुलाई २७ । आफैले जन्माएका सन्तान तथा आफन्तहरूबाट तिरष्कृत वृद्दबृद्दाहरू र द्वन्दको बेला आफ्ना बाबुआमा तथा आफन्त गुमाएका अनाथ द्वन्दपिडित बालबालिकाहरू गरी हाल ८५ जनालाई आफ्नै घरमा आश्रय दिई उनीहरूको दुखेको घाउमा ममतामयी मलमपट्टी लगाउदै आफ्ना व्यक्तिगत इच्छा र आंका क्षाहरूबाट धेरै माथि उठेर दिनरात उनीहरुकै सेवामा समर्पित “आमाहरूकी पनि आमा” दिलशोभा श्रेष्ठको साहसिक पूण्यकर्मदेखि प्रभावित भई अमेरिकाको ओक्लाहोमा राज्यस्थित स्टिल्वाटर शहरमा बसी अध्ययन तथा अनुसन्धान गर्दै गरेका विधार्थीहरू तथा उनीहरूको परिवार र त्याँहाबाट अध्ययन पूरा गरी अन्यत्र बसोबास गर्दै गरेका भूतपूर्व विधार्थीहरू र उनीहरूको परिवारबाट आमाघरको सहयोगार्थ रू १,७५,१४३ (एक लाख पचहत्तर हजार एक सय त्रिचालिस ) रकम संकलन गरी दिलशोभा श्रेष्ठको थानकोट स्थित NIC बैंक को बचत खातामा जम्मा गरिएको कुरा सहयोग संकलन समितिका संयोजक होम आचार्यले जानकारी गराउनु भएको छ।
स्वयं आफ्नो विगत पनि कठिन संघर्षबाट गुजारेकी आमा दिलशोभा देशमा बढ्दो अराजकता, व्यक्तिवादी चिन्तन तथा स्वार्थबाट आफूलाई अछुतो राख्दै केवल आफ्नो एकल प्रयासबाट निसहाय वृद्दबृद्दा तथा अनाथ बालबालिकाहरूलाई सहारा दिई “जँहा इच्छा त्यहाँ उपाय” भन्ने उखानको ज्वलन्त उदाहरण बनेकी छन्| कसैले सहयोग गरे सधन्यवाद सहयोग स्वीकार्ने र जस्तोसुकै अप्ठेरो परिस्थितिमा पनि सहयोगको लागि हात फैलाउन नजान्ने यी ममतामयी हृदयकी धनी आमा दिलशोभाको पून्य कार्यको लागि सहयोग गर्न कसलाई पो मन नलाग्ला र भन्छन त्यहाँ स्थित नेपालीबासी समुदाय।
एउटा सानो शहरमा अवस्थित नेपाली समुदायबाट छोटो समयमा संकलित यो सहयोग रकमले विदेशमा रहेर पनि “मन त मेरो नेपाली हो” भन्ने राष्ट्रिय भावनालाई चरितार्थ गर्दछ। आधुनिक समाजको हिरो आमा दिलशोभा, तिम्रो सत्कार्यको लागि कोटीकोटी प्रणाम!