सप्तरीको कोचाबखारी गाविसमा शनिबार बिहान गोली चल्दा एक युवक गम्भीर घाइते

सप्तरीको कोचाबखारी गाविसमा शनिबार बिहान गोली चल्दा स्थानीय एक युवक गंम्भीर घाइते भएका छन् । घाइते हुनेमा कोचाबखारी गाविस ७ का रामप्रसाद साहका २० वर्षीय छोरा श्यामकुमार साह हुन् । उनको पेटमा गोली लागेको छ ।
कोचाबखारी ७ स्थित एक जनाको घरमा बिहान साढे ९ बजे चलेको गोली लागेर साह घाइते भएको हो । घाइतेको राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा प्राथमिक उपचार पश्चात सघन उपचारकालागि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यता गोली कसले किन चलाएको भन्ने विषयमा केही खुल्न सकेको छैन । सप्तरीका प्रहरी प्रमुख गणेशबहादुर थापाले गोली चलेको पुष्टि गर्दै थप कुरा अनुसन्धान पछि मात्रै जानकारी दिन सकिने बताए । घटनास्थलमा ब्यापकरुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
यसैबीच प्रहरीले सोही ठाउँबाट दुई जनालाई पक्राउ समेत गरेको छ । पक्राउ परेकाहरुबारे प्रहरीले केही खुलाएको छैन ।

अन्य समाचारहरु