तस्करहरूले मेक्सिकोबाट अमेरिका प्रवेश गराउने भनी प्रतिव्यक्ति १५ देखि २२ लाख रुपैयाँ लिई ल्याटिन अमेरिकी राष्ट्र पुर्याई अलपत्र पारेको उनीहरूले टेलिफोनमा बताए। अमेरिका प्रवेश गराइदिन्छु भन्ने तस्करहरूले छाडी फरार भएपछि आफूहरूको विचल्ली भएको उनीहरूले बताए।
‘हामी ९० जना अहिले ब्राजिलको साओ पाओलोमा अलपत्र परेका छौं, खान र बस्ने कुनै ठेगान छैन,’ तस्करहरूको फन्दामा परी ब्राजिलमा अलपत्र परेका पोखराका २२ वर्षीय रविन गुरुङले टेलिफोनमा नागरिकसँग भने, ‘कोही पुलमुनि सुतेका छौं, कोही टेन्टमा।’
दुई महिनाअघि गुरुङसहित ८ जना काठमाडौंबाट कतारको दोहा हुँदै ब्राजिलको सम्पाल पुगेका थिए। त्यसपछि उनीहरूलाई अमेरिका जाने सपनामा त्यहाँ पुगेका अन्य नेपालीसँग भेट गराइएको थियो। अमेरिकातर्फ लैजाने क्रममा बोलिभियामा अप्ठ्यारो परेपछि तस्करहरूले उनीहरूलाई पुनः ब्राजिल फर्काई साओ पाओलोमा छाडेका थिए।
स-सानो समूह बनाई तस्करहरूले ब्राजिलबाट बोलिभिया प्रवेश गराउने गरेको उनले जानकारी दिए। गुरुङका अनुसार बोलिभियाबाट ९० जना फर्केर साओ पाओलो आए पनि ठूलो संख्यामा नेपाली बोलिभियामै अलपत्र परेका छन्। ब्राजिल फर्की अलपत्र परेकामा ७ जना महिला रहेको गुरुङले जानकारी दिए। ती महिलामध्ये चार जना पोखराकी शर्मिला गुरुङ, पार्वती गुरुङ, सरिता गुरुङ र संगिता छन्त्याल छन्।
तस्करहरूले अमेरिका प्रवेश गराइदिएवापत २० लाख रुपैयाँ लिने डिल गुरुङसँग गरेका थिए। आरके दाइ र विपीन भन्ने व्यक्तिले नेपालबाट आफूहरूलाई पठाएको उनले बताए। ‘नेपाल फर्कनसक्ने स्थिति छैन, यहाँ चिनेको कोही छैनन्, साथमा ल्याएको पैसा पनि सकियो,’ गुरुङले भने।
ब्राजिलको साओ पाओलोमा मात्र ९० नेपाली भए पनि अलपत्र पर्नेको सबैभन्दा ठूलो संख्या बोलिभियामा रहेको चार वर्षदेखि ब्राजिलमा व्यापार-व्यवसाय गर्दै आएका पर्वतका केशवप्रसाद बास्तोलाले टेलिफोनबाट जानकारी दिए। उनी अहिले ल्याटिन अमेरिकी राष्ट्रमा अलपत्र परेका नेपालीको उद्धारमा लागेका छन्।
बास्तोलाका अनुसार तस्करहरूले अमेरिका लैजाने भन्दै ल्याटिन अमेरिकी देश चिलीमा ५०, इक्वेडरमा १५ र बोलिभियामा झन्डै ९ सय हाराहारीमा नेपाली अलपत्र पारेका छन्। ब्राजिलसहित चारै देशमा अलपत्र परेकासँग आफ्नो सम्पर्क भएको उनले बताए।
‘ब्राजिलबाट नेपाल फर्कन एक जनाको जहाज टिकट झन्डै २ लाख रुपैयाँ लाग्छ, उनीहरूसँग केही छैन,’ बास्तोलाले भने, ‘कहाँ राख्ने, के खुवाउने, कसरी नेपाल पठाउने, केही सोच्न सकिएको छैन।’
अलपत्र परेका नेपालीलाई स्थानीय प्रहरीले पक्राउ गरेपछि उनीहरूसँग कुराकानी गर्न दोभाषे खोज्ने क्रममा आफ्नो भेट अलपत्र परेकासँग भएको अंग्रेजी, स्पेनिस र पोर्चुगिस भाषा जानेका बास्तोलाले बताए। ब्राजिललगायत ल्याटिन अमेरिकी राष्ट्रमा स्पेनिस र पोर्चुगिस भाषा बोलिने भएकाले त्यहाँको प्रहरीले उनको सहयोग लिँदै आएको छ।
अलपत्र परेका तनहुँका ४५ वर्षे एक जनालाई पाँच दिनपछि मंगलबार खाना खुवाएको उनले बताए। अलपत्र परेकामध्ये केहीको स्वास्थ्य स्थिति अत्यन्त गम्भीर रहेको जानकारी पनि उनले दिए। दिलीप गुरुङ नाम गरेका नेपाली दलाल सुरुका केही दिन अलपत्र परेकासँग रहे पनि अहिले उनी पनि फरार रहेको बास्तोलाले बताए।
प्रहरीको अनुरोधमा उनी बोलिभिया गई त्यहाँ अलपत्र परेका नेपालीलाई समेत भेटेर गत साता ब्राजिल फर्केका हुन्। अलपत्र परेकालाई स्थानीय प्रहरीले ‘सोसियल वर्कस्’ को जिम्मा लगाएको उनले बताए। उनीहरूलाई बिहान ८ बजे चिया दिएर घरबाट बाहिर निकालेपछि दिउँसो चार बजेपछि मात्र प्रवेश गर्न दिने गरिएको छ।
‘घामपानी केही भन्न पाएका छैनन्, बिहान चिया, बेलुकी एक छाक खाना र सुत्न दिइएको छ,’ बास्तोलाले अलपत्र परेकाको अवस्था बताए, ‘यहाँको नियमअनुसार उनीहरूलाई बिहान ८ बजे घरबाट बाहिर पठाउने र दिउँसो चार बजेपछि मात्र प्रवेश दिने गरिन्छ। उनीहरू दिनभर सडकमा बस्न बाध्य छन्। तीन महिनादेखि उनीहरू प्रहरी निगरानीमा छन्,’ उनले बताए।
तस्करहरूले अमेरिका छिराउन नेपालीलाई काठमाडांैबाट कतारको दोहा, दोहाबाट ब्राजिल, ब्राजिलबाट बोलिभिया, बोलिभियाबाट पेरु, पेरुबाट इक्वेडर, इक्वेडरबाट कोलम्बिया, कोलम्बियाबाट पानामा, पानामाबाट कोस्टारिका, कोस्टारिकाबाट निकारागुवा, निकारागुवाबाट होन्डुरस, होन्डुरसबाट ग्वाटेमाला, ग्वाटेमालाबाट मेक्सिको हुँदै चोरबाटो अमेरिका छिराउने गरेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै बास्तोलाले बताए।
उनका अनुसार तस्करहरूले नेपालीलाई काठमाडौंबाट दोहा, दोहाबाट ब्राजिल र ब्राजिलबाट बोलिभिया हवाईजहाजबाट लग्ने गरेको र बोलिभियाबाट मेक्सिकोसम्म सडक मार्ग प्रयोग गरी लैजाने गरेका छन्। मेक्सिकोबाट चोरबाटो प्रयोग गरी जल तथा स्थल मार्गबाट अमेरिका छिराउने गरेका छन्। यसरी काठमाडौंबाट अमेरिका छिराउँदा तीन महिनासम्म लाग्छ।



