
काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री खुमबहादुर खड्का भ्रष्टाचारी ठहर भएका छन् । सर्वोच्च अदालतले मंगलवार खड्कालाई भ्रष्टाचारी ठहर गरेको हो । सर्वोच्च अदालतका न्यायाधीशद्धय कल्याण श्रेष्ठ र वैद्यनाथ उपाध्यायको संयुक्त इजलासले खड्कालाई भ्रष्टाचारी ठहर गरेको हो ।
सर्वोच्चले खड्काको ९४ लाख रुपैयाँको स्रोत नखुलेको ठहरगर्दै उनलाई डेढवर्ष कैद सजाय गर्ने फैसला गरेको हो ।
सर्वोच्चले खड्कालाई ९४ लाख ७४ हजार १ सय २२ रुपैयाँ विगो जरिवाना समेत गरेको छ । अख्तियारले खड्काका श्रीमती र सालोलाई समेत दोषी देखाएको छ भने छोरीलाई समेत मतियार भनेको छ । २०४८ सालपछि पटक-पटक मन्त्री बनेका खड्का विरुद्ध २०५९ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा पदको दुरुपयोगगरी २ करोड ३६ लाख अकुत सम्पत्ति आर्जनगरी भ्रष्टाचार गरेको आरोप लगाउँदै मुद्दा दायर गरेको थियो ।
तर विशेष अदालतका तत्कालीन न्यायाधीशत्रय भूपध्वज अधिकारी कोमलनाथ शर्मा र चेलेन्द्र शम्शेर जबराको संयुक्त इजलासले २०६३ कार्तिक २९ गते सफाई दिएको थियो । त्यसपछि विशेषको फैसलालाई चुनौति दिंदै २०६३ चैत्रमा अख्तियारले सर्वोच्अ अदालतमा पुनरावेदन हालेको थियो ।
फैसालापछि खड्काका सर्मथकले अदालत परिसरमा विरोध र प्रदर्शन गरिरहेका छन् । । खड्काका सर्मथकका विरोधका कारण उक्त क्षेत्रमा यातायात व्यवस्था प्रभावित बनेको छ । यसअघि खड्काको फैसला हुने भएपछि अदालत परिसरमा ठूलो मात्रामा उनका सर्मथकको भीड लागेको थियो भने प्रहरीले सुरक्षा व्यबस्था कडा बनाएको थियो ।
Source: Arghakhanchi.Com