हेटौंडा । मकवानपुरको छतिवन गाउं विकास समिति वडा नम्बर ९ मा बकैया खोलामा आएको बाढीले तीनजना बालबालिका बगाएको छ । हेटौंडाबाट घर जानेक्रममा बुवासंगै खोला तर्न लाग्दा हिजो सांझ उनीहरुलाई बाढीले बगाएको हो ।
छतिवन गाउं विकास समिति वडा नम्बर ९ लुर्हनाका शंकर मोक्तानका आठ वर्षिया छोरी शान्ति, सात वर्षिया छोरी सञ्जु र चार वर्षिय छोरा शेखरलाई बाढीले बगाएकोमा दुई जनाको शव बारामा फेला परेको छ । बुबा शंकर मुोक्तानलाई स्थानीय बासिन्दाले खोलाबाट उद्दार गरी बचाउन सफल भए पनि बच्चाहरुको उद्दार गर्न नसकिएको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा बालबालिकाहरुको खोजी भईरहेको छ ।
नुवाकोटको माझिटारमा गएराती परेको चट्याङबाट मदानपुर गाउं विकास समिति वडा नम्बर २ का प्रेम बडालको मृत्यु भएको छ । चट्याङबाट सात जना घाइते भएका छन् । घाईतेहरुको जिल्ला अस्पताल त्रिशुलीमा उपचार भैरहेको छ । चट्याङमा परी बेलकोट गाविसका रामप्रसाद रेग्मीको घरमा पालिएका केही पशु पनि मरेका छन् ।
– RSS