साउनको पहिलो साता गएको पहिरोले मनकलाको घर पुरेपछि सहयोग खोज्दै सदरमुकाम बाग्लुङ बजार आएका थिए। कुनै निकायबाट राहात नपाएपछि केही समय आफन्तले आश्रय दिए पनि अहिले उनीहरु घर न घाटको भई बजारमा भौँतारिएका छन्। पतिलेले अर्को बिहे गरेपछि फूलमाया छोरीसहित माइतमै बस्दै आएकी थिइन्। बिदेशिएको पति नफर्किएपछि तारापनि दुई छोरी लिएर आमासँगै थिइन्।
पहिरोले घर बगाईदिएपछि बाग्लुङ बजारमा आएका विक परिवार दुई चार दिन काम गरेर बिहानबेलुकाको गुजारा गरेपनि अहिले बेशाहारा भएका छन्। बाग्लुङ बजारको देउराली चोक नकिजै हनुमान पौवामा बसेर रात फालेका उनीहरु आइतबार बिहान निकै चिन्तित मुद्रामा भेटिए। ‘बजारमा आफ्नो भन्ने कोही छैन, फूलमायाले भनिन्,’ काम पनि नपाएपछि चारदिनदेखि भोकै छौं।’
छ जना अहिले कामको खोजीमा भौतारिएका छन्। यहाँ राहात नपाएर घर फर्किएपनि बस्ने बास नभएकोले अन्योलमा छन्। ‘बर्षादको समय भएकोले कामपनि पाईएन,’ उनले भनिन्,’ बुढी आमा र छोरीहरुपनि बिचल्ली भयो।’
तीन जना स्कुले बालबालिका भएपनि उनीहरुपनि आमासँगसँगै हिँडेका छन्। गाउँमा छँदा विद्यालय जाने गरेका भएपनि तीन बालिका अहिले विद्यालय जान पाएका छैनन्। विद्यालय जानु त के उनीहरुले खान नपाएपछि बाटो हिँड्ने सँग बिलौना गर्दै थिए।
हेरचाह गर्ने घरमूली समेत नभएपछि समस्यामा परेको तीन महिलाले बताए। ‘दुःख परेर माइतमा बस्दै आएका थियौँ,’ ताराले भनिन्,’ त्यै घरमा पनि दैव लाग्यो।’ बुढेसकालमा घरबारबिहिन भएपछि मनकला अब के गर्ने भन्ने पिरलोमा छिन्। छोरा नभएपछि छोरीहरुले घरमै बसेर पालेका थिए। ‘गाउँमा छँदा अरुको मेलापाता गरेर सघाउँदै आएका थिए,’ आमा मनकलाले भनिन्,’ घरको बुकुरोपनि पहिराले लगेपछि बेशाहारा भएँ।’ पतिको पहिल्यै मृत्यु भएकोले उनी एक्ली छन्।



