गुल्मीमा सवारी दुर्घटना बढ्न थालेपछि प्रशासनद्धारा ट्रकलाई यात्रु र बसलाई मालसामान ओसारपसार गर्न नदिने निर्णय


 

धुर्कोट्, गुल्मी – गुल्मीमा सवारी दुर्घटना बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले ट्रकलाई यात्रु र बसलाई मालसामान ओसारपसार गर्न नदिने निर्णय गरेको छ। जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको हो।

 

पछिल्लोपटक जिल्लाको हर्दिनेटामा १३ जनाको ज्यान जानेगरी भएको बस दुर्घटनाको मुख्य कारण चालकको लापरबाही र यात्रुको खिचातानी भएको भन्दै बैठकले जिल्ला प्रहरी कार्यालयले तयार गरेको सडक दुर्घटना न्यूनीकरण कार्य योजनाबारेको छलफलपछि यस्तो निर्णय गरेको हो।

प्रमुख जिल्ला अधिकारी कवीन्द्र नेपालको अध्यक्षतामा बसेको बैठकले सवारीचालक र यातायात व्यवसायीलाई तालिम प्रदान गर्ने, सडकमा ट्राफिक चिह्न राख्ने, सवारीका छतमा हुने ओभरलोड हटाउने, सवारीसाधन अनुसारका सेवामात्र प्रदान गर्न लगाउने, सडकमा राखिने निर्माण सामग्री तत्काल हटाउने, सवारीसाधनको सिट क्षमताभन्दा बढी भएका यात्रु दुर्घटनामा परेमा त्यस्ता यात्रुको क्षतिपूर्ति उपलब्ध नगराउने, सडकलाई आँगनका रुपमा प्रयोग गर्नेलाई कारबाही गर्ने, सडकमा छोडिएका पशुपक्षी, चौपाया सवारीसाधनको ठक्करबाट मरेमा त्यसको क्षतिपूर्ति उपलब्ध नगराउने तथा जिल्लाभर दुर्घटना न्यूनीकरणका लागि सचेतना अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।


बैठकले जिल्लाका प्रमुख सडक, बजार र धेरै सवारीसाधन चल्ने क्षेत्रमा सरोकारवालासहितको जनचेतनामूलक र्‍याली निकाल्नेसमेत निर्णय गरेको छ।


बैठकले जिल्लाको यातायात व्यवस्था सहज र प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्लामा छुट्टै यातायात व्यवसायी, उद्योग वाणिज्य सङ्घ, सुरक्षा निकाय र पत्रकारसहितको यातायात व्यवस्थापन तथा अनुगमन समिति पनि गठन गरेको छ। -रासस

अन्य समाचारहरु