पाल्पामा २ हजार लिटरभन्दा बढी अवैध घरेलु मदिरा बरामद

– माधब अर्याल

 

पाल्पा  – पाल्पा जिल्ला प्रहरी कार्यालय पाल्पाले शनिबार राती मस्याम गाविसको चर्चरेमा घरेलु मदिरा बनाउने कारखाना र संकलन केन्द्रमा छापा मारेर २ हजार लिटरभन्दा बढी अवैध घरेलु मदिरा बरामद गरेको छ ।

सिद्धार्थ राजमार्गको छेउमै सुराकीको आधारमा प्रहरीले पानी राख्ने एकहजार, ५ सय र सय लिटरका ड्रम साथै ग्यालेनमा राखिएको अवस्थामा अवैध घरेलु मदिरा प्रहरीले बरामद गरेको हो । प्रहरीले घरेलु मदिरा बनाउने मर्चा, जांड लगायतका सामग्री समेत बरामद गरेको छ । मानवबहादुर दर्लामी, प्रेमबहादुर रास्कोटी र मानबहादुर गुरुङ्ले कारखाना र संकलन केन्द्र संचालन गर्ने गरेको प्रहरी प्रमुख मीरा चौधरीले बताए ।

चर्चरेबाट तानसेन र बुटवल ती मदिरा सप्लाई हुँदै आएको थियो । कोलडाँडा र मदपोखराका विभिन्न भागबाट जम्मा गरिएका ती मदिरा बिक्री गर्ने ठेकेदारले राखेको स्थानीयले बताएका छन् ।

पक्राउ परेका तीनै जनाले मिलेर सिद्धार्थ राजमार्गको छेउमै जाँड बनाउने र घरेलु मदिरा बनाउने कारखाना र संकलन केन्द्र चलाएका थिए ।

अन्य समाचारहरु