स्याङ्जामा पहिरोले घर भत्किंदा एकै परिवारका ४ को मृत्यु/विषालु च्याउ खाँदा दैलेखमा एकै परिवारका चारको मृत्यु

स्याङ्जाको कारिकोट चण्डीभञ्ज्याङ गाविसमा पहिरोले घर पुर्दा एकै परिवारका चार जनाको मृत्यु भएको छ । चण्डीभञ्ज्याङ ७ का ओमप्रसाद सुबेदीको घर भत्किंदा घरमा सुतिरहेका ओमप्रसादकी श्रीमती २७ बर्षकी सरस्वती सुबेदी, छोरी ५ वर्षकी आकृति सुबेदी, २ वर्षकी अस्मिता सुबेदी र २० दिनका छोरा गोबिन्द सुबेदीको घटनास्थलमा नै ज्यान गएको हो ।
ओमप्रसाद भने भागेर ज्यान जोगाउन सफल भएका छन् । अविरल बर्षाकारण गएराति करिब पौने १२ बजे आएको पहिरोले सुबेदीको टिनले छाएको तीन तले कच्ची घर भत्किंदा उनीहरुको ज्यान गएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ ।
उद्धारका लागि वडा प्रहरी कार्यालयका प्रहरी अधिकृत सहितको टोली घटनास्थल गएको छ भने स्थानियबासीले विहाननै देखि उद्धार कार्य जारी राखेका छन् ।
यसैबिच विषालु च्याउ खाँदा दैलेखमा एकै परिवारका चारको मृत्यु भएको छ । 
 
विषालु च्याउ खाएर विरामी परेका मनबहादुर गुरुङ, उनका छोरा अम्बर गुरुङ, छोरी मानकुमारी गुरुङ र बुहारी निर्मला गुरुङको उपचारका क्रममा मृत्यु भएको हो ।
जंगलबाट ल्याएको च्याउको तरकारी खाएर विरामी परेका निर्मला गुरुङको दैलेखमै र स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि मानकुमारीको लखनउ लैजादै गर्दा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । यस्तै वावु मनबहादुर गुरुङ र छोरा अम्बर गुरुङको भने लखनउमा उपचारका क्रममा आइतवार राती ज्यान गएको वताइएको छ ।
गत भदौ २५ गते स्थानिय जंगलवाट ल्याइएको च्याउ खाएर विरामी परेका उनीहरु विरामी परेपछि भदौ २७ गते जिल्ला अस्पताल दैलेख पुर्‍याइएको थियो । दैलेखमा उपचार हुन नसकेपछि वावु मनवहादुर गुरुङ, छोरी मानकुमारी र छोरा  अम्बर गुरुङको लखनउ लगिएको थियो ।

अन्य समाचारहरु