माओवादी जनयुद्धको उद्गमथलो रोल्पा थवाङका ३० वर्षीय मोहन परियारको परिवार युद्धकै कारण बिथोलियो। १५ वर्ष लडाकु जीवन बिताइसकेका उनी अब फेरि कसैले त्यस्तो दिन देख्न नपरोस् भन्छन्। युद्धकालमा दर्जनौं युद्ध लडेका उनले युद्धकै कारण आफूलाई जन्म दिने बाबुआमा नै गुमाए। युद्ध भर्खर सकिएको थियो तर एकअर्काप्रतिको आक्रोश विभिन्न पक्षबिच थामिएका थिएनन्। राज्य र माओवादीका उच्च नेताहरु शान्तिको बिगुल फुक्दै गर्दा उनको घरमै बाबु सत्यबहादुर नेपाली र आमा नरमाला नपालीको हत्या भयो। घरमै रहेका उनकी पत्नी र चिचिला दुई छोरा भागेर बाँचे।
‘हामीले युद्धमा धेरै गुमायौं, अब अरु कसैले नगुमाऊन् भन्ने चाहन्छौं,’ उनी भन्छन्, ‘अब सधैं देशमा शान्ति नै शान्ति होस्, अशान्ति कहिल्यै नहोस्।’
सेना समायोजन रोजेर बसे पनि पछिल्लोपल्ट शक्तिखोरबाट स्वैच्छिक अवकाशमा शिविर छाडेका मोहन परियारको परिवार अहिले शिविरनजिकै बस्छन्। ‘थवाङको पाखोबारी बाँझै छन्, अब फर्केर पनि के गर्ने, घरमुली बा-आमा नै छैनन्,’ उनी पीडा व्यक्त गर्छन्, ‘युद्धको पीडा अब देख्न पनि चाहन्नँ।’ हातमा सीप नभए पनि पाएका पैसाले केही न केही गरेर परिवार पाल्ने आँट आफूमा रहेको उनी सुनाउँछन्। अहिले शक्तिखोरको कमान्ड सम्हाल्दै गर्दा स्वैच्छिक अवकाश लिएका बिग्रेड कमान्डर गोविन्दबहादुर बटालाले पनि युद्धमा ठूलै चोट पाए।
‘युद्धकालको भिडन्तमा पाल्पामा बैनी अमृता बटाला र कालीकोटमा भाइ कर्णबहादुर गुमाए। उनी युद्धको तीतो स्मृति सुनाउँछन्, ‘देशका लागि भनेर जाँदा आफ्नै मुटु जोडिएका भाइबैनी गुमाएँ।’
ग्ाुमाउँदै गुमाउँदै बितेको आफ्नो जीवन सम्झने उनी जवानीको मेहनत गर्ने दिन पनि युद्धमै गुमेको बताउँछन्। युद्धमात्र होइन, उनले आफ्नै पार्टीका लागि जेलनेलसमेत भोगे।
काठमान्डौं कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्या हुँदा ब्रिगेड सहकमान्डर उनी शिविरको सबै जिम्मेवारी लिएकै कारण थुनामा परेका थिए।
एमाओवादीको आदेशमा हत्याको नैतिक जिम्मेवारी बहन गर्दै पुर्पक्षका लागि तीनवर्ष जेल सजाय समेत उनले भोगे।
‘शिविरमा बसेर सैनिक जीवनको राम्रो अनुभव संगालौँला भनेका बेला जेलका कुँजिएर बस्दा निकै पीडा हुन्थ्यो,’ उनले भने, ‘बिनाकसुर जेलमा बसेर आफ्नो अमूल्य समय गुमाएँ।’
अबको समय अरुको राम्रोका लागि खर्चने उनको योजना छ। स्वैच्छिकमै निस्केकी उनकी पत्नी सुनिताले १३ वर्षको लडाकु जीवन बिताइन्। कलिलै छँदा घर छाडेकी ३४ वर्षीया गौतम २०६१ सालको युद्धकालमा दाजुलाई सुराकी गरेको निहुँमा तत्कालीन सेनाले गोली हानेको झल्झली सम्झन्छिन्। ‘फेरि कसैका दाजुभाइ खोस्ने र आमाको काख रित्ता बनाउने दिन नफिरोस्,’ उनी कामना गर्छिन्।
चितवन शुक्रनगरका मनिराम महतोको इच्छा पनि सबै नेपालीले प्रगतिउन्नतिको दिन देख्न पाओस् भन्ने छ। आइए पास उनी अब अझ पढेर राम्रो मानिस बन्न चाहन्छन्।
कसैको झुठा आश्वासनमा लाग्नुभन्दा पनि सबैको हित सोचेर अघि बढ्नुपर्ने पाठ लडाकु जीवनले सिकाएको उनी बताउँछन्। पीडित मानिस जतिसुकै परिवर्तन हुँदा पनि पीडित नै रहने वास्तविकता आफूले अहिले देखेको उनी सुनाउँछन्।
उनीहरुजस्तै सेनामा जाने र स्वेच्छिक अवकाशमा निस्कने लडाकुहरु अब देश दीर्घकालीन शान्तिको बाटोमा अग्रसर हुनुपर्ने बताउँछन्।
‘फेरि यस्ता युद्धले नेपाली आमाका सन्तान नमासिउन अनि रित्तो सिउँदो लिएर चेलीबेटीहरुले अधुरो जीवन बाँच्नु नपरोस्,’ उनीहरु भन्छन्।
Source:नागरिक



