काठमाडौ – लागूपदार्थ कारोबारको अभियोगमा मलेसियाको सर्वोच्च अदालतबाट मृत्युदण्ड सजाय सदर भइसकेका हरिबहादुर घलेको जीवनरक्षाका लागि उनका ८३ वर्षीय हजुरबा धनबहादुर आलेले सरकारसँग बिन्ती गरेका छन् ।
लागूऔषध कारोबारमा २००३ को मे ३० मा पक्राउ परेर अदालती प्रक्रियाबाट २००९ को नोभेम्बर २६ मा उच्च न्यायालयबाट मृत्युदण्ड सजाय सुनाइएका घलेबारेको फैसलालाई सर्वोच्चले मंगलबार सदर गरेको थियो । ‘अबको ३५ दिनभित्रमा मेरा नातिको जीवनरक्षामा अनुरोध नगएमा उसलाई मृत्युदण्ड दिने तिथि तोकिने भएको रहेछ,’ हजुरबाको भनाइ उद्धृत गर्दै ३२ वर्षीय हरिबहादुरका भाइ टेकबहादुरले भने । नुवाकोट, बसुन्चेत- १ घर भएका हरिबहादुरका बुबाआमाको निधन भइसकेको छ भने अहिले १३ वर्षीया छोरी झरना मात्रै घरमा बाबुको पर्खाइमा छिन् ।
एमनेस्टी इन्टरनेसल, आप्रवासी समन्वय सहयोग समितिसहितको सहयोगमा बुधबार हरिबहादुरका हजुरबा, छोरीसहितका परिवारले परराष्ट्र मन्त्रालयको कन्सुलर शाखा र राष्ट्रिय मानव अधिकार आयोगमा जीवनरक्षाका लागि पहल गरिदिन निवेदन दिएका छन् । आयोगका अध्यक्ष केदारनाथ उपाध्यायले घलेको जीवनरक्षाका बारे परराष्ट्र मन्त्रालयमार्फत बुझबुझारथ गरिने जानकारी दिए ।
– RSS