थैवको हत्यारा विकलाई जन्मकैदको फैसला

तीन वर्षअघि एमाले कार्यकर्ता प्रचण्ड थैवको हत्या अभियोगमा पक्राउ परेका  एमाओवादी   कार्यकर्ता सुजित विकलाई रुपन्देही जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश बालेन्द्र रुपाखेतीको इजलासले विकलाई हत्यारा ठहर गर्दै मंगलबार उक्त फैसला गरेको हो ।

विक तनहुँ जिल्लाको खैरेनीटार-८ का स्थायी बासिन्दा हुन् । उनी वाइसिएल गठन भएदेखि नै रुपन्देहीका क्रियाशील थिए । २०६५ चैत १३ गते राति बुटवल नागरपालिका ९ पुष्पनगरको पुल नजिकै गोली हानी थैवको हत्या गरिएको थियो ।

विकलाई सहयोग गरेको अभियोगमा रुपन्देहीको पड्सरी-५ ठूटीपिपलका लोकबहादुर गुरुङ र लेखनाथ न्यौपानेलाई जनही २० रुपैयाँ जरिवाना तोकिएको छ । सहयोगीको रुपमा मुद्दा चलाइएका दाङ्को गोल्टाकुरी-९ घर भै हाल रुपन्देहीको देवदह २, खैरेनीका  एमाओवादीका अर्का कार्यकर्ता उदय भनिने मानबहादुर पुनलाई भने अलदालतले सफाइ दिएको छ ।

थैवको पक्षमा जिल्ला न्यायाधिवक्ता मोहनसागर बस्याल, अधिवक्ता शिवहरि अधिकारी र कुलानन्द ज्ञवाली लगायतले बहस गरेका थिए भने विकको पक्षबाट अधिवक्ता लीलाधर मरासिनी, सूर्य अधिकारी, लयप्रसाद भट्टराई, पशुपति भण्डारी र ज्ञानु केसी (सहानी) ले बहस गरेका थिए ।

हत्यामा तत्कालीन वाइसीएल कार्यकर्ता विक संलग्न भएको भन्दै किटानी जाहेरी परे पनि विक लामो समयसम्म फरार थिए । उनलाई २०६७ साउनमा काठमाडौंबाट प्रहरीले पक्राउ गरी रुपन्देही पठाएको थियो । थैवलाई तीन गोली लागेको पोष्टमार्टम रिपोर्टमा जनाइएको थियो । गोली लागी गम्भीर घाइते भएका थैवको उपचारक्रममा लुम्बिनी अञ्चल अस्पतामा मृत्यु भएको थियो ।

घाइते अवस्थामा उनले आफूलाई सुजितले गोली हानेको बताएका थिए । घटनाको भोलिपल्ट बिहानैदेखि युथ फोर्स र एमालेका कार्यकर्ताले जिल्लाभर विरोध प्रदर्शन गरेपछि प्रशासानले कर्फुसमेत लगाउनुपरेको थियो ।
 
Source:Ekantipur

अन्य समाचारहरु