नेपालगन्ज । यस बर्षको दशैं मनाउन राउटेहरुलाई खाद्यान्य तथा खसी बोकाको जोहो गर्न भ्याइ नभ्याई छ ।
सल्यानको छाँयाक्षेत्र-२ राउटेचौरमा बस्दै आएका राउटे समुदायको लागि दशैंको बेलामा हरेक घरपरिवारले बोका, कुखुरा, भेडा काट्नै परम्परा भएकोले सोको जोहो गर्नको लागि उनीहरु दौडधुपमा लागेका हुन् ।
राउटेका मुखिया सूर्य नारायण शाहीले दशैको खर्च जुटाउन र जनावर खोज्नको लागि आफुहरु व्यस्त रहेको बताए ।
सामान्यतया राउटे समुदायले पशु नपाल्ने र खेती नगर्ने भएपनि दशैको बेलामा भने राउटेबस्तीमा भेडा बाख्रा कुखुरा देख्न पाईन्छ । मुखयिा शाहीका अनुसार सो जनावर दशैको लागि भनेर खोजेर ल्याइएको हो ।
उनले राउटे पुरुषहरु दशैको लागि जनावर र खर्चको जोहो गर्न गाँउ, शहरतिर लागेको र घरमा भएका महिलाहरुले दशैको लागि जाँड बनाउने र दशैको लागि उपयोग हुने दुना टपरी बुन्ने काममा व्यस्त हुने गरेको बताए ।
यसैबीच नेपालगन्जस्थित क्षयरोग अस्पतालमा कार्यरत एक चिकित्सकले दशैको लागि सल्यान राउटेचौरका राउटे समुदायको लागि दुई बोका उपाहार दिएका छन् । राउटेको बस्तीमै पुगेर दशैको लागि बोका उपाहार दिएका हुन् ।
डा. सुशील कोईरालाले आफ्नो दशैको भत्ताबाट खरिद गरेको दुई बोका नेपालगन्जबाट सल्यानको राउटेबस्तीमै पुगेर उनीहरुका मुखियामार्फत सबै समुदायले बाँडेर खानेगरी दिएका हुन ।
– RSS