दाङ । दाङ देउखुरीको गढवामा गएराति गोली चलेको छ । फूलपातीका दिन स्थानीय मेलामा भएको सामान्य विवादमा गोली चलेको हो । गोली लागेर तीन युवा घाइते भएका छन् ।
मेला भर्न गएका स्थानीय युवाबीच मेला भर्ने क्रममा सामान्य विवाद भएको थियो । इलाका प्रहरी कार्यालय गढवाका अनुसार गढवा ७ मा लागेको चिलियामा मेला भर्न गएका स्थानीय युवाबीच विवाद भएको थियो । त्यसपछि राती १२ बजेतिर गढवा बजार नजिकै गोली चलेको हो ।
गोली कसले चलायो भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गोली लागेर गढवाकै वर्षात योगी, नारायण थापा, वुद्धिराम चौधरी घाइते भएका छन् । उनीहरुको पेट र खुट्टामा गोली लागेको हो ।
घाइते सबैलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ । इलाका प्रहरी गढवाले अनुसन्धानका लागि सुरेश योगीलाई नियन्त्रणमा लिएको छ । त्यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
– RSS