महेश्वर चामलिङ राई
उदयपुर – दशैँ विदाका दिन बन्दी भागेपछि ड्युटीमा खटेका कर्मचारी र सुरक्षाकर्मीको जागिर जाने खतरा बढेको छ। दशैँ नवमीको साँझ जिल्ला वन कार्यालय उदयपुरको हिरासतमा राखिएका दुई बन्दी कर्मचारी र सुरक्षाकर्मीको आँखा छलेर भाग्न सफल भएपछि ड्युटी कर्मचारीको जागिरमा धरापमा परेको हो।
साँझ ६ बजेतिर थुनुवा कक्षमा राखिएका त्रियुगा नगरपालिका ५ बहेडवाका सुकराम चौधरी र जोगीदह ५ हाटखोलाका दीपक अधिकारी सुरक्षाकर्मीको आँखा छलेर फरार भएका थिए। सुरक्षाकर्मी खाना खान बसेको मौकामा भाग्न सफल भएको वन कार्यालयका मुद्दा फाँट अधिकृत कुमारबहादुर खड्काले बताए। विदा भएकाले कार्यालयले परिचालन हुने जिल्ला वन, इलाका र रेन्जपोष्टस्तरीय गस्तीको अनुगमनको जिम्मा खड्कालाई नै सुम्पिएको थियो ।
सातादिनअघि चोरीको काठसहित गाईघाटबजारबाट रंगेहात पक्राउ परेका आठजनामध्ये दुईजना भाग्न सफल भएका हुन्। उनीहरु गत असोज २४ गते काठसहित गाईघाट बजारमा विहान ३ बजे त्रियुगा नगर प्रहरीले भेटेर पक्राउ गरी वन कार्यालयलाई जिम्मा दिएको थियो। वन हिरासतमा रहेका उनीहरुमाथि जिल्ला अदालतले १५ दिनको म्याद थपेर अनुसन्धान गरिरहेको छ।
खड्काका अनुसार दशैँ विदा परेकाले वन कार्यालयमा चार सुरक्षाकर्मीको टोली ड्युटीमा खटाइएको थियो। जम्मा आठ सुरक्षाकर्मीको दरवन्दीमध्ये अन्य विदामा गएकाले चारलाई मात्र ड्युटी खटाइएको खड्काले बताए। सुरक्षाकर्मीका अनुसार उनीहरु भाग्ने बेलामा लोडसेडिङ भएकाले निस्पट्ट अँध्यारो थियो। ‘खाना खाने बेलामा थुनुवा कक्षबाहिर निकालेको मौका पारेर अँध्यारोमै भागेछन्’ कार्यालयका एक सुरक्षाकर्मीले भने ‘खाना खाईसकेपछि मात्र थाहा भयो। तर, थाहा पाउँदासम्म दुवै लापत्ता भईसकेका थिए।’ उनीहरु भागेको बारे सुरक्षाकर्मी, कर्मचारी र अन्य थुनुवाले समेत पत्तो नपाएको कार्यालयले जनाएको छ।
वन कार्यालय परिसरको घेराबेरा कमजोर भएका कारण हाम फालेर उनीहरु भाग्न सफल भएको खड्काको भनाई छ। सधैं झैँ सुरक्षाका साथ खाना खुवाउन कक्षबाहिर निकालिएको बेला कार्यालयको घेरा तोडेर भागेको उनले बताए। उनीहरु पूर्वी पर्खाल नाघेर भागेको पदचाप भेटिएको छ। फरार बन्दीहरुको तत्काल खोजी थालिए पनि दुवैजना अझै फेला परेका छैनन्। वन कर्मचारी र सुरक्षाकर्मी तथा प्रहरी टोली उनीहरुको खोजीमा दुवैको घर, छिमेक, नरनाता र चिनजानका सबै ठाउँ पुगे पनि पत्ता नलागेको खड्काले बताए।
दुई कैदी भाग्नाले धेरैजनाको दशैँ खल्वलिएको उनले भने ‘मोराहरु मागेकाले आफु पनि दशैँ मान्न पाएनन्, हामीलाई पनि मान्न दिएनन्।’ ब्यवस्थित र बलियो घेराबेरा नभएको फाईदा उठाएर कैदी भाग्न सफल भएको उनीहरुको जिकीर छ। तर, कर्मचारीको मिलेमतोमा उनीहरुलाई भगाइएको हुनसक्ने आशंका स्थानीयले गरेका छन्। ड्युटीमा रहेका सुरक्षाकर्मीलाई विदालगत्तै निलम्बन गरेर अनुसन्धान थालिने अधिकृत खड्काले बताएका छन्।
प्रमुख जिल्ला अधिकारी दिनेश भट्टराईले उनीहरु आफै भागेको या भगाइएको भन्ने विषयमा छानविनपछि मात्र थाहा हुने बताए। छानविन क्रममा कर्मचारीबाट भगाइएको पाइए जागीर जानेसम्मको कारबाही हुने भट्टराईले बताए। विदा सकिएलगत्तै छानविन प्रक्रिया अघि बढाइने प्रजिअ भट्टराईले बताए। यसबारे बुझ्न खोज्दा वन अधिकृत विश्वमणि आचार्य विदामा रहेकाले सम्पर्क हुन सकेन।